काठमाडौंः राष्ट्रिय सभाकी उपाध्यक्ष बिमला घिमिरेले नयाँ व्यवस्था ल्याएपनि पुरानो मानसिकताका कारण हिंसाका घटनाको अन्त्य हुन नसकिरहेको बताएकी छन् ।
ग्रिन फाउण्डेसन नेपालको संयोजनमा प्राकृतिक स्रोत माथि कार्यगरिरहेका ७ वटा संस्थाहरुले मंगलबार बानेश्वरमा आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको अभियानमा गीति नाटक प्रस्तुतीकरण तथा प्राकृतिक स्रोतमा महिला अधिकार बिषय सरोकारवालहरुको अन्तरसंवाद कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उपाध्यक्ष घिमिरेले सो कुरा बताएकी हुन् ।
उनले भनिन् —‘हामीले आन्दोलनबाट राज्यको पुनः संरचना त गरौं,तर हाम्रो मानसिकतामा संरचना गर्न नै सकेका छैनौं । जसकारण हिंसाका घटनाहरु भईरहेका छन् ।’
उनले सिंहदबार भित्र कार्यरत महिलाकर्मचारीहरुमाथि समेत हिंसा हुने गरेको तथ्यले पढेर मात्रै नहुँदो रहेछ भन्ने स्पष्ट पारेको बताइन् । उनले भनिन्—‘हामी आफै चेतनशिल भएनौ भने डिग्री प्राप्त गरेको शैक्षिक प्रमाणपत्रमा चेतना भन्ने कुराको नहुँदो रहेछ । अब ढिला नगरी मानसिकतामा पुनः संरचना मर्न जरुरी छ ।’
नयाँ व्यवस्था ल्याएसँगै सहभागीता पनि नयाँ तरिकाले नै गरेको तर मानसिकता पुरानो भईदिनाले आजका युवा पुस्ताहरुलाई ज्यादै ठूलो समस्याहरु सृजना भईरहेको उनले बताईन् ।
उनले भनिन् —‘हिंसा न्यूनिकरण होइन, अब यसको अन्त्य नै गर्न तर्फ हामी जानु पर्छ । हिंसा अन्त्यका लागि थुप्रै कानूनहरु निर्माण त भए । तर कानुन भएर मात्रै नहुँदो रहेछ । त्यसको कार्यन्वयन पक्ष बलियो हुनु पर्ने रहेछ । कानुन कार्यन्वयन र अपुग कानुन निर्माणमा म सहजीकरण गर्न तयार छु ।’
उपाध्यक्ष घिमिरेले नयाँ व्यवस्थामा फड्को मार्न खोजेका छौं, तर व्यवहारिक रुपमा कार्यन्वयन चरणमा जान नसकेको बताइन् । उनले भनिन् —‘हाम्रो समस्या यही छ । मानसिकतामा परिर्वतन नभएपछि पढेको हाकिम भएर भएन, राजनितिक दलको ठूलो नेता भएर पनि नहुँदो रहेछ । आफ्नो व्यवहारले कसैको चित्त दुख्यो भने त्यो हिंसा हो । यो कुरा सबैले बुझ्न जरुरी छ ।’
थाहा नभएर पनि कतिपय हिंसा भईरहेका बताउँदै उपाध्यक्ष घिमिरेले भोग्नेहरुले पनि हिंसामा परेको थाहा नपाईरहेको बताइन् । हामीमा सांस्कृतिक हिंसा पनि रहेको र त्यसलाई आफैले परिर्वतन गर्न आवश्यक रहेको उनले बताइन् । त्यसका लागि कुनै कानूनको आवश्यकता समेत नपर्ने उनको भनाई थियो ।
उनले स्थानीय तहमा धेरै महिलाहरु निर्वाचित भएका छन् । त्यहाँपनि हिंसा रहेको बताइन् । उनले भनिन्—‘यस्तै खालका सचेतनामुलक कार्यक्रममा भेट हुँदा मलाई धेरै स्थानीय तहका महिला जनप्रतिनिधहरुले बिभिन्न खालका हिंसा हुने गरेको गुनासाहरु पोख्नु हुन्छ । अझसम्म वहाँहरुलाई काम गर्ने वातावरण नै सृजना गरिएको छैन् । यो दुःखद पक्ष हो ।’
राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले समाजमा हुने सबै खालका लैङ्गिक हिंसा अन्त्यका लागि आफु सधैभरी एकवद्ध हुनुका साथै सरोकारवालाहरुको अभियानमा सँगसँगै रहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।