इटहरीः सुनसरी र मोरङमा भएका सवारी दुर्घटनामा बाबुछोरा सहित चार जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार सुनसरीको रामधुनीमा भएको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामधुनी–९ का ५० वर्षीय पुरण चौधरी रहेको प्रहरीले जनाएको छ । रामधुनी–९ डुम्राहा टोलमा प्र१–०२–००४ह १४८१ नम्बरको सिटी सफारीमा आफ्नै खेतबारीबाट धान ओसार्ने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भई उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ओभरलोडका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष छ ।
यस्तै, मोटरसाइकल अनियन्त्रित हुँदा दुईजनाको मृत्यु भएको छ ।
मोरङको ग्रामथान गाउँपालिका २ झोराहाट चौकस्थित घिनाघाट पक्की सडक खण्डमा विराटनगरबाट विराटचौकतर्फ जाँदै गरेको प्रदेश१–०४–००२प १९०१ नं १५० (सिसी) को मोटरसाइकल अनियन्त्रित भई नहरको पुलमा ठक्कर खान पुगेको थियो ।
दुर्घटनामा चालक कटहरी गाउँपालिका १ बस्ने २२ वर्षीय आशिक मरिक, पछाडि सवार निजको बुबा ४५ वर्षीय उमेश मरिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको विराट नर्सिङ होम अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्य भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उता झापामा बसले सिटी सफारीलाई ठक्कर दिई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
झापा कमलगाउँपालिका ५ ज्योतिचोकस्थित पूर्व–पश्चिम लोकमार्गमा दमकबाट केर्खातर्फ जाँदै गरेको प्रदेश न १–०२–००१ख ९७०६ नम्बरको यात्रुबाहक बसले प्रदेश न १–०१–००२च ८४० नम्बरको कारलाई पछाडिबाट ठक्कर दिँदा कार बाटोदेखि तल झरेको र सोही बसले बिर्तामोडबाट दमकतर्फ आउँदै गरेको डब्लुबी७४ ए एक्स २८२९ नम्बरको कार र सोहि दिशातर्फबाट आउँदै गरेको प्रदेश न १–०१–०२ह ९०१ नम्बरको सिटी सफारीलाई ठक्कर दिई दुर्घटना भएको हो ।
दुर्घटनामा सफारी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । ४५ वर्षीय ती पुरुषको हालसम्म नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।