धरानः विराटनगरबाट साथीहरुसँगै घुम्न आएकी मनिशा मेहेता धरान उपमहानगरपालिका –२० स्थित चिन्डे डाँडाको सेछ एडभेन्चर एन्ड होलिडेज पार्कमा रमाइरहेको अवस्थामा भेटिइन ।
धरानबाट तीन किलोमिटर हाइकिङ गर्दै यहाँ आईपुगेकी उनले पहिलो पटक जिपलाइन साइक्लिङ गर्न पाउँदा खुसी भएको बताइन । विराटनगरकै डेनिस खानले फेसबुक र टिकटकमा मात्र यो पार्क देखेकी थिइन । प्रत्यक्ष यहाँ आइपुग्दा सामाजिक सञ्जालमा देखेभन्दा राम्रो लागेको उनको प्रतिक्रिया थियो । “सोचेभन्दा राम्रो रहेछ, अरु साथीहरुलाई यहाँ घुम्न आउन अनुरोध गर्छु” उनले भनिन ।
मनिशा र डेनिस मात्र होइनन्, सेछ एडभेन्चर एण्ड होलिडेज पार्क घुम्नका लागि अधिकांश युवाको रोजाइमा पर्न थालेको छ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । धरानको मुख्य बजारबाट ६ किलोमिटर दूरीमा रहेको यहाँ कोही ‘हाइकिङ’ गर्दै त कोही सवारीमा पुग्ने गर्छन् । यहाँ साइक्लिङ जिपलाइन र प्यारालाइडिङ जस्ता साहसिक खेलहरु खेल्न आन्तरिक पर्यटक आउन थालेका हुन् ।
पहिले उजाड र सुनसान गाउँका रुपमा रहेको यहाँ चार वर्षअघि मात्र पार्क निर्माण गरिएको हो । साइक्लिङ जिपलाइन, हेडिङ ब्रिज, रसियन सर्कल, चिल्ड्रेन पार्क यहाँको मुख्य आकर्षण रहेको पार्कका निर्देशक वासुदेव बरालले बताए। उनले भने, “हाम्रो प्रदेशमै पहिलो पटक एक मात्र एडभेन्चर पार्क सञ्चालन गरेका छौँ, पर्यटकले रुचाइदिनुभएको छ ।”
पार्कमा वनभोजका लागि आउने विद्यार्थीहरुको घुइँचो लाग्ने गरेको निर्देशक बरालले बताए। पार्कले विभिन्न प्याकेज उपलब्ध गराएपछि पनि आन्तरिक पर्यटक तथा क्याम्पस तहका विद्यार्थीहरुको आकर्षण बढेको हो । सुरुमा पाँच करोडको लगानीमा निर्माण गरिएको सेछ पार्कमा हाल केही नयाँ संरचना निर्माण गरिएसँगै लगानी सात करोड पुगेको जनाइएको छ । पार्क अढाइ बिघा क्षेत्रफलमा फैलिएको छ । रासस