सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, शान्ति र भाइचारामा अभिवृद्धि हुने विश्वास
धरानः नेपाली कांग्रेसले तमु ल्होसार र ख्रीष्टमसको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीको आयोजनामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि पर्यटन, वन तथा वातावरण मन्त्री मा. सदानन्द मण्डलले नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ ले धरानवाट शुरुवात गरेको यो कार्यक्रमको सन्देश मुलुकभर सकरात्मक रुपमा जाने बताउंदै बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा सबै जातजाति भाषाभाषी र धर्मावलम्वीहरुको पर्व र उत्सवलाई सबैले मनाउनुपर्ने बताए । उनले क्षेत्रीय समितिद्धारा गरिएको यसप्रकारका कार्यक्रमले सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, शान्ति र भाइचाराको समेत अभिवृद्धि हुने बताए ।
क्षेत्रीय सभापति तामाङले हरेक नेपालीको मौलिक एवम् परम्परागत चाड, पर्व, उत्सव, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने दायित्व दलहरुको पनि भएको भन्दै यसैका लागि गत वर्षदेखि कार्यक्रम गरिएको र यस वर्ष पनि निरन्तरता दिइएको बताए ।
तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदका सुनसरी जिल्ला अध्यक्ष धिरज गुरुङले नेपाली कांग्रेसले गुरुङ समुदायलाई समेत निम्तो गरी तमु गुरुङहरुको मौलिक एवम् महान पर्व तमु ल्होसारलाई गत वर्षदेखि मनाउन थालेको भन्दै नेपाली कांग्रेसले ऐतिहासिक कार्य गरेको बताउंदै धन्यवाद एवम् आभार प्रकट गरे ।
त्यसैगरी ख्रीष्टीयन समाज धरानका अध्यक्ष गोविन्द राईले सयौं थुङ्गा फुल र चार जात छत्तिस वर्णको फुलवारी भन्ने गरेपनि त्यसको अनुभूति हुन नसकिरहेको अवस्थामा नेपाली कांग्रेसले गत वर्षदेखि इसाई धर्र्मावलम्वीहरुको महान पर्व ख्रीष्टमसको अवसरमा ईसाई समुदायलाई समेत निम्तो गरी शुभकामना आदान प्रदान र चियापान गरेकोमा इसाई समुदाय अत्यन्तै हर्षित भएको बताए ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य मीना सुब्बाले पनि नेपाली जातजाति, भाषाभाषी र धर्म सम्प्रदायका चाडपर्वहरुका अवसरमा कार्यक्रम गर्नु आफैमा उदाहरणीय कार्य भएको बताईन ।
त्यसैगरी जिल्ला सचिव माधव घिसिङले तमु ल्होसार र क्रिसमसको शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमले नेपाललाई जातजाति र भाषाभाषीको साझा फुलवारी बनाउनमा मद्दत पुग्ने बताए ।
महासमिति सदस्य श्यामा रेग्मीले देशका हरेक जन समुदायको धर्म, संस्कार, परम्परा, चाडपर्वहरु उनीहरुको पहिचान भएकाले त्यसको सम्मान गर्दै कार्यक्रम गरिनु अत्यन्तै सह्रानीय कार्य भएको बताईन ।
नगर कोषाध्यक्ष पंचकला राईले आफुपनि त्रिश्चियन भएको र नेपाली कांग्रेसले क्रिसमस लगायत विभिन्न चाडपर्वको अवसरमा कार्यक्रम गरेर धेरै राम्रो कार्य गरेको बताईन् ।
कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव महेन्द्र प्रधान र सहसिचव सुमित राईले गरेका थिए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद ममता तामाङ, धरान नगर सभापति श्याम पोखरेल, राष्ट्रियसभा सदस्यका प्रत्यासी मिना पुलामी, तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदका नगर अध्यक्ष बकसमान गुरुङ, नेपाली कांग्रेसका जिल्ला सदस्य अनुपमना सुनुवार, रत्न रिमाल, निर्मला नेपाल, प्रदेशसभा १(१) सचिव युवराज शंकर, कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, सहसचिव रमिता श्रेष्ठ, नगर सचिव हिमाल श्रेष्ठ, नगर सहसचिव शिला बज्रचार्य, नेपाल महिला संघका क्षेत्रीय सभापति नेत्रकुमारी राई, नगर सभापति सुशिला श्रेष्ठ, नेपाल तरुण दल नगर सभापति रामकुमार तामाङ, नेपाल लोकतन्त्रवादी आदिवासीज जनजाति महासंघ क्षेत्रीय सभापति दिनेश राई, प्रदेशसभा १(१) सभापति भावना चित्रकार, नगर सभापति कृष्णकुमार राई(भुपाल) लगायतको उपस्थिति रहेको थियो ।