इटहरीः इटहरी उपमहानगरपालिका कार्यालय प्रवेश गर्ने मुख्य गेट अगाडि सहित तीन स्थानमा अज्ञात समूहले बम राखेपछि बिहानबाटै इटहरी क्षेत्र आतंकित बनेको छ ।
इटहरी उपमहानगरपालिका गेट अगाडि राखिएको शंकास्पद बस्तु भनिएको प्रेसर कुकर बम भएको पुष्टि भईसकेको प्रहरीले जनाएको छ । बम डिस्पोजका लागि सो स्थानमा नेपाली सेनाको डिस्पोजल टोली पुगेर डिस्पोजको काम थालिसकेको छ ।
सुनसरी र मोरंगको सिमामा पर्ने बुढीखोला पुल मुनी पनि इटहरी उपमहानरपालिका गेट अगाडि जस्तो कालो प्लाष्टिकले बेरेर शंकास्पद बस्तु राखिएको पाईएकाले त्यस बस्तुको पहिचान गरी डिस्पोजका लागि नेपाली सेनाको अर्को टोली खटिएको छ । त्यसैगरी इटहरी र धरान उपमहानगरको सीमा क्षेत्रमा रहेको सेउती पुल छेउमा पनि त्यस्तो बस्तु राखेको भन्ने खबर आएकाले त्यस तर्फ पनि सुरक्षाकर्मीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मंगलबार(आज) बिहानै इटहरीका तीन स्थानमा राजवादी समूहले बम राखेको र आजबाटै नयाँ खालको जनयुद्ध सुरुवात गरेको भन्ने म्यासेज आएको थियो । प्रहरीले बम राखेर सर्वसाधारणलाई आतंकित बनाई शान्ति सुरक्षा खलबल्याउने समूहको पहिचानका लागि आवश्यक अनुसन्धान थालेको छ ।