धरानः नेपाली कांग्रेसले घरघरमा गएर क्रियाशील सदस्यता नविकरण गर्ने भएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ सुनसरीले क्रियाशील  सदस्यता नविकरण र समसामयिक विषय माथि वडा सभापतिहरुसंग धरानमा गरेको छलफल तथा अन्तरक्रियामा वडा सभापतिहरुले घरघरमा गएर फागुन १ गतेसम्ममा नविकरण प्रकृया सकेर नगर समितिलाई बुझाउने जनाएको हो ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा क्रियाशील सदस्यता नविकरण, स्थानीय विकास निर्माण, सुशासन, संगठन सुदृढिकरण लगायतका विविध विषयमा विचार विमर्श हुनका साथै वडा सभापतिहरुलाई क्रियाशील सदस्यता नविकरण सम्बन्धि परिपत्र र २०/२० थान पार्टीको झण्डा समेत प्रदान गरिएको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए । 

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले कांग्रेसीहरुको घाउ कहीं छैन तर नदुखेको ठाउं छैन भन्दै कांग्रेसको अवस्थाका बारेमा बताउंदै अब कांग्रेसले कांग्रेसको विरोध नगरी सहानुभूति र सद्भावका साथ सहमति, सहकार्य र एकता गरेर पार्टी संगठनलाई मजबूद बनाउनु पर्नेमा जोड दिए । उनले हिजो जानीनजानी गलत गर्नेहरुले रियलाईज गर्नुपर्ने र पार्टीले एकपटक आममाफी दिनुपर्ने भन्दै अब उप्रान्त जोकोहीले पनि आचारसंहिता विपरितका कार्य गरेमा पार्टीले तत्काल अनुशासनको कारवाही गर्नुपर्ने बताए । थप प्रसंंगमा स्थानीय विकास निर्माणका योजना सम्बन्धमा पार्टीको डेलिगेशनको नेतृत्व र सहजीकरण गर्ने आफु तयार रहेको पनि बताए ।

20250125_164443

पूर्व केन्द्रीय सदस्य तथा पूर्व संघीय सांसद मीना सुब्बाले क्रियाशील सदस्य पार्टीको महत्वपूर्ण जग भएकाले समयमै नविकरण गरेर पार्टीलाई चलायमान बनाउनुपर्ने बताईन् । 

कोशी प्रदेश महामन्त्री उमेश थापाले ८३ सालको मंसिरसम्ममा कुनैपनि हालतमा पार्टीको महाधिवेशन भईसक्नुपर्ने व्यवस्था भएकाले क्रियाशील सदस्यता नविकरण यथाशक्य गरेर जनता लक्षित कार्यक्रममा पार्टी होमिनुपर्नेमा जोड दिए । उनले स्थानीय पार्टी नेतृत्वले विकास निर्माणका योजनाहरुको प्राथमिकिकरण गरेर ल्याउन सुझाउंदै प्रदेश सरकार समक्ष आफुले पहल गर्ने बताए ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङले सरकारले सुशासन र विकासमा जनताले महशुष गर्ने गरी काम गर्नुपर्ने बताउंदै जनताको मन जित्न पार्टीका सबैले आ–आप्mनो जिम्मेवारी इमान्दारी र सकृयताका साथ वहन गर्नुपर्नेमा जोड दिए । उनले क्रियाशील सदस्यता नविकरण सम्बन्धि कार्य तथा प्रकृया वडाले फागुन १ गतेसम्ममा, पालिकाले फागुन १० गतेसम्ममा, प्रदेशसभाले  फागुन २० गतेसम्ममा र प्रतिनिधिसभाले फागुन मसान्तसम्ममा नविकरण गरिसक्नुपर्ने केन्द्रीय परिपत्रमा उल्लेख भएकाले तत्तत् समय सिमाभित्र सबैले नविकरणको कार्य सकेर आ–आप्mनो माथिल्लो निकायमा अनिवार्य पेश गर्नुपर्ने बताए ।

20250125_153921

नगर सभापति श्याम पोखरेलले वडा कार्यसमितिले के के कार्यक्रम गर्ने हो वर्षमा ४ वटा कार्यक्रम गर्न स्मरण गराउंदै सहयोग समेत गर्ने प्रतिवद्धता जनाउंदै नगर कार्यसमितिले भने अव उपमहानगरपालिका केन्द्रीत कार्यक्रम गर्ने घोषणा गरे ।

कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठले देउसी भैलो कार्यक्रम–२०८० र २०८१ को आयव्यय प्रस्तुत गर्दै सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा बराहक्षेत्र ३ का सभापति पनुलाल धामी, धरान १ का कार्यवाहक सभापति सुमन श्रेष्ठ, धरान १९ का कार्यवाहक सभापति टंक सुवेदी, क्षेत्रीय सदस्य सुमन श्रेष्ठ(तखाछे), क्षेत्रीय सदस्य कमला श्रेष्ठ, बराहक्षेत्र ५ का सभापति दिलबहादुर पौडेल, धरान ७ का सभापति सुवर्ण मोहन पलिखे, धरान ११ का सभापति लोकेन्द्र फागु, धरान १४ का सभापति श्याम श्रेष्ठ लगायतले आप्mना र वडाको तर्फवाट विचार राखेका थिए । 

कार्यक्रममा पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, कोशी प्रदेश सदस्य गणेश परियार, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, महासमिति सदस्यद्धय श्यामा रेग्मी र जगतबहादुर कार्की, महाधिवेशन प्रतिनिधिहरु चित्रकुमारी राई, निलकुमारी गिरी थापा, पुजा धामी, राजु साह, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, प्रदेश सम्मेलन सदस्य कुशुम ओली, क्षेत्रीय सदस्य श्याम सुब्बा, महेन्द्र तामाङ, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जनप्रतिनिधि वडा सदस्य मनिष खड्गी लगायतको उपस्थिति रहेको थियो ।