इटहरीः ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलिय राजनीतिक पार्टीहरुले गरेको बन्दका कारण इटहरी सहित पूर्व क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
इटहरीको मुख्य चौंकमा बिहानबाटै भेला भएका पहिचानवादी नेता तथा कार्यकर्ताहरुले यातायात र बजार क्षेत्र पूर्ण रुपमा बन्द गराएका छन् । बन्दका कारण यातायात र बजार पूर्ण रुपमा प्रभावित भएको छ ।
इटहरीको मुख्य चौंकमा पहिचानवादी नेता तथा कार्यकर्ताहरु केबल कार निर्माण र आन्दोलनमा राज्यपक्षबाट गोली चलाई गरिएको दमनका विरुद्ध बिहानबाटै निरन्तर नारावाजी गरिरहेको आन्दोलनमा सहभागी पहिचानवादी युवा नेता जिवन खजुमले जानकारी दिए ।
उनका अनुसार इटहरीको आन्दोलनमा पहिचानवादी नेता खगेन्द्र माखिम संघीय लोकतान्त्रि राष्टिय मञ्चका नेता चन्द्र कन्दङ्म्बा लगायतको सहभागीता रहेको छ । आन्दोलनमा किरात राई यायोख्खा, तामाङ घेदुङ संघ , मगर संघ लगायतका संघ संस्थाहरु प्रतिनिधिहरुको उल्लेख्य सहभागीता रहेको खजुमले जानकारी दिए ।
मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले माघ २० र २१ गते अरुणपूर्व नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) बन्दको आह्वान गरेको खजुमले बताए ।
बन्दका कारण कोशी पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन् । कोशी राजमार्ग धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
त्यस्तै, तमोर करीडोर ठप्प हुँदा धनकुटाको गढतिर क्षेत्र तथा ताप्लेजुङ, पाँचथरलगायतको स्थानमा सञ्चालन हुने सवारीसाधन चल्न सकेको छैनन् । धरानबाटै सवारीसाधन नआएका कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण समितिले केहि दिन अघिबाट मेचि राजमार्ग तथा तमोर करीडोर बन्द गर्दै आएकोमा आइतबारबाट भने अरुण पूर्व बन्द गरिएको खजुमले जानकारी दिए ।