इटहरीः  सरस्वती पूजाका लागि सुनसरीबाट मात्रै  एक हजार बढी मूर्ति बिक्री भएको छ  । सुनसरीका मुर्तिकारहरूका अनुसार एक हजार बढी मुर्ती बिक्री हुदाँ एक करोडको मूर्ति बिक्री भएको हो । 

एक महिना अघिदेखि आकर्षक रूपमा बनाएको मूर्तिबाट राम्रो आम्दानी गरेको इनरुवाका मुर्तिकार लक्ष्मण मेहताले बताए । आफूहरूलाई एक महिनाअघिदेखी भ्याइनभ्याई भएकोमा सोमबार सरस्वती पूजा हुने भएकाले आइतबार मात्रै एक सय बढी मुर्ती आफूले बिक्री गर्दा पाँच लाखको कारोबार भएको मेहताले बताए । 

सरस्वती पूजाका लागि विद्यालय, शैक्षिक संस्था र व्यक्तिहरूले समेत मूर्ति लाने भएकाले सोचे भन्दा राम्रो आम्दानी भएको अर्का मुर्तिकार सञ्जय चौधरीले बताए । सरस्वती पूजा अगाडि नै कलात्मक र आकर्षक मूर्ति निर्माण गरेको चौधरीको भनाइ छ । 

शिक्षक, विद्यार्थी र शैक्षिक संस्थालाई माटोबाट निर्माण गरिएको सरस्वतीको कलात्मक मूर्ति सहजरूपमा पुर्‍याउने उद्देश्यका साथ सदरमुकाम इनरुवाका मूर्तिकार विनोद यादव, सरोज यादव, लक्ष्मण मेहता, रामेश्वर मेहता, रन्जय यादव सहितका दर्जन बढीले एक हजार बढी मुर्ति बनाई बिक्री गरेका हुन । अरु बेला खासै काम नगर्ने मूर्तिकारहरू अहिलेको चिसोको बेवास्ता गर्दै सिजनमा दिनरात सरस्वती मूर्ति बनाउन व्यस्त बनेका थिए । उनीहरूलाई मूर्ति बनाउन भ्याइनभ्याई भएको स्थानीय देवराज यादवले बताए ।