काठमाडौंः सभामुख देवराज घिमिरे र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच आइतबार शिष्टाचार भेटवार्ता भएको छ । भेटमा हमासको नियन्त्रणमा रहेको भनिका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ, दुई देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदान प्रदान लगायतका विषयमा कुराकानी भएको छ ।
भेटमा सभामुख घिमिरेले इजरायली राजदूतलाई कार्यकालको सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–इजरायल सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । सभामुख घिमिरेले हमासको नियन्त्रणमा रहेको भनिका नेपाली विद्यार्थी विपिन जोशीलाई पहिलो प्राथमिकतामा राखेर रिहाइका लागि पहल गर्न ध्यानाकर्षण गराए । ‘महामहिममार्फत विपिनलाई पहिलो प्राथमिकतामा राखेर रिहाइ गर्न वा स्थितिबारे सार्वजनिक गर्न ध्यानाकर्षण गराउँदछु,’ सभामुखले भने ।
सभामुखले नेपाल र इजरायलबीच सन् १९६० मा स्थापना भएको द्विपक्षीय सम्बन्ध मित्रता, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गर्दै इजरायलले नेपाललाई छात्रवृत्ति, कृषि, श्रम र सुरक्षाका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । नेपाल र इजरायलबीचको कृषि तथा श्रम क्षेत्रमा सहकार्यबारे छलफल गर्दै सभामुख घिमिरेले ‘अर्न एन्ड लर्न’ कृषि तालिम कार्यक्रमबाट नेपाली विद्यार्थीहरू लाभान्वित भएको बताए । सभामुख घिमिरेले नेपाल शान्तिप्रेमी राष्ट्र भएको उल्लेख गर्दै मध्यपूर्वमा स्थिरता र शान्तिको पक्षमा नेपाल रहेको बताए ।
भेटमा राजदूत श्मुलिक आरी बासले नेपाली युवा विपिन जोशीलाई सकुशल छुटाएर नेपाल फर्काउन इजरायलले प्रयास गरिरहेको बताए । उनले जोशीलाई रिहाइ गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिनुपर्ने धारणा राखे ।
गत वर्ष अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि आक्रमण गर्दा कृषिसम्बन्धी अध्ययन गर्दै काम गर्न गएका नेपालीमध्ये १० जनाको ज्यान गएको थियो । जोशीको अवस्था अझै अज्ञात छ ।
राजदूत बासले युद्धपछि इजरायलको जनजीवन सामान्य बन्दै गएको बताउँदै त्यहाँ अध्ययनरत विद्यार्थीलाई नेपालले फर्काउन पहल गर्नुपर्ने बताए । उनले आफ्नो मुलुक भ्रमणका लागि सभामुखलाई इजरायली समकक्षीको निमन्त्रणा हस्तान्तरण गरेका थिए ।