धनकुटाः धनकुटाको चौबिसे गाउँपालिका–८, बसन्तटारमा काठको गोलिया ओसार्ने क्रममा एक युवाको मृत्यु भएको छ। चौबिसे गाउँपालिका–७, लोफादिनका २७ वर्षीय मौसम चेम्जोङ काठको गोलिया माथिबाट तल सडकमा झार्ने क्रममा दुर्घटनामा परेका थिए। गोलियाले किचेर टाउकोमा गम्भीर चोट लागेका चेम्जोङलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक चेम्जोङको शव पोष्टमार्टम गरि परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिए।