विराटचोकः मोरङको सुन्दरहरैंचामा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको मिक्स युगलतर्फ एपिएफका जोडी हाबी भएका छन् ।

पुस ३० मा सम्पन्न क्वाटरफाइनल खेलमा एपिएफका तीनै वटा टिमले सेमीफाइनलको यात्रा तय गरे । एपिएफका पूजा श्रेष्ठ र दिपेश धामीको जोडीले बीबीएका सीमा राजवंशी र सुजन श्रेष्ठको जोडीलाई २१–१६ र २१–१२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का बनाए ।

यस्तै एपिएफकै सुनैना मुखिया र गौतम कठायतको जोडीले नेपाली सेनाका अमिता गिरी र नवीीन श्रेष्ठको जोडीलाई २१–१२ र २१–१८ ले पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेको हो ।

अर्को खेलमा सेनाका अनुमाया राई र रत्नजीत तामाङको जोडीले बीबीएका नीता लम्साल र प्रनिश सिंह ठकुरीको जोडीलाई २१–१० र २१–१३ ले पराजित गर्दै सेमीफाइनलमा पुगेको छ ।

शोभा र विजितको जोडीले बीबीएका सूर्य श्रेष्ठ र धनमाया लिम्बूको जोडीलाई २१–१४ र २१–१३ ले पराजित गरेको थियो ।

दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामद्वारा आयोजित प्रतियोगितामा अन्तर्राष्ट्रिय विजेता प्रिन्स दाहालले आफ्नो विजयी यात्रालाई कायमै राखेका छन् । क्वाटरफाइनलमा एपिएफका गौतम कठायतलाई २३–२१ र २१– १३ ले पराजित गर्दै सेनाका रुकेश महर्जनसँगको भेट पक्का गरे । रुकेशले पुलिसका विष्णु कटुवाललाई २१–१४, ११–२१ र २१–१६ ले पाखा लगाएका थिए ।

यसैगरी, सेनाका प्रफुल्ल महर्जनले एपिएफका विजित थापा मगरसँग २१–१५, १५–२१ र २२–२० को कठिन जीत निकाले । प्रफुल्लले एपिएफका सुनिल जोशीसँगको भेट पक्का गरेका छन् । सुनिलले पुलिसका जीवन आचार्यको जोडीलाई २१–१४, १७–२१ र २१–१४ ले पन्छाउन सफल भए ।

पुस २७ गतेबाट जारी प्रतियोगिताको सेमीफाइनलका खेल माघ १ गते र फाइनल खेल माघ २ गते हुने रेफ्री उदय अर्यालले बताए ।

badminton  (1) badminton  (2)

Maghesankranti Mahotsav namje