इटहरीः कर्मचारीको आन्तरिक सरुवामा मनोमानी गरेको बिषयमा असन्तुष्ट भए यता इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरी र मेयर हेमकर्ण बीचको टसल झन बढ्दै गएको छ । यसले इटहरीका जनताहरुको सेवा र विकासमा बाधा पर्न जाने देखिएको छ । प्रशासन शाखाका प्रमुख संजिव खड्कासँग विवाद भएपछि उपमेयर चौधरी सहितको एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले उपमहानगरको प्रशासन महाशाखामा ताला लगाएका थिए ।
इटहरी उपमहानगरपालिकाको प्रशासन प्रमुखको कार्यकक्षमा लगाइएको ताला मेयर पौडेलले कुनै सहमति विना दादागिरी शैलीमा १३ दिनपछि फोडेपछि उपमेयर चौधरी र मेयर पौडेल बीच थप टसल बढेको हो । उपमेयरसहित एमाले जनप्रतिनिधिले लगाएको ताला वडाध्यक्ष दिवस पोख्रेलसहितको समुहले हिजो साँझ खोलेको थियो । ताला खोलेसँंगै प्रशासन महाशाखा प्रमुख दिपक पौडेलले काम सुरु गरेका छन् ।
त्यसअघि दिउँसो समस्या समाधान गर्नको लागि छलफल भएको थियो । छलफल विना निष्कर्ष टुंगिएपछि मेयरको निर्देशनमा ताला खोलिएको आरोप उपमेयर संगीताकुमारी चौधरीले लगाइन् ।
कर्मचारी सरुवा विभेदपूर्ण तरिकाले गरिएको भन्दै असन्तुष्ट एमाले जनप्रतिनिधिहरुको आक्रोश १३ दिनअघि उत्कर्षमा पुगेको थियो । सरुवा भएका कर्मचारीहरुको सर्भर डाउन गरी आइडी पासवर्ड डिएक्टीभ गरिएको र त्यसले वडाको काम प्रभावित भएको भन्दै एमाले जनप्रतिनिधिहरुले तात्कालिन प्रशासन शाखा प्रमुख सञ्जीव खड्कालाई घेरेका थिए । उनीहरुले खड्कालाई कार्यकक्षबाट निकालेर ताला लगाइदिएका थिए ।
त्यसपछि कर्मचारीसम्बद्ध संघसंस्थाले विज्ञप्ती निकालेर कर्मचारीमाथि दुव्र्यवहार गरिएको भन्दै विरोध जनाएका थिए भने अर्कोतर्फ उपमेयरको शैक्षिक योग्यतामा प्रश्न गर्दै अपमान गरिएको भन्दै थारु सम्बद्ध संघसंस्थाले विरोध जनाएका थिए ।
एमाले जनप्रतिनिधि र मेयरबिचको विवाद चुलिएपछि नगरको कामकारवाही प्रभावित बन्दै गएको छ । ताला खोल्ने विषयमा सहमती नजुटेपछि मेयरको निर्देशनमा ताला खोलिएको् भन्दै उपमेयर चौधरीले मेयरकै कार्यकक्षमा ताला लगाउने चेतावनी दिएकी छिन् । ुभोलि फेरी छलफल गर्ने कुरा भएको छ, सहमती जुटेन भने १० बजे ताला लाग्छ,ु उनले भनिन् ।
यता मेयर पौडेलले भने छलफल भइरहेको र चाँडै विवाद समाधान भएर बजेट निर्माणमा लाग्ने बताएका छन् ।
थलिँदै उपमहानगर
एकातिर मेयर उपमेयरलगायत जनप्रतिनिधिहरुबिचको टकराव अनि अर्कोतिर आर्थिक संकटका कारण इटहरी उपमहानगरपालिका थलिँदै गएको छ । आम्दानीभन्दा खर्च बढी हुने गरी अत्याधिक कर्मचारी भर्ती, योजनाबेगरका सामाग्री तथा सवारी साधनको खरीद आदिले उपमहानगरको आर्थिक चक्र बिग्रिएको हो । जसको असर उपभोक्ताहरुको भुक्तानीदेखि कर्मचारीको तलबमा समेत देखिएको छ ।
यसैबिच इटहरी उपमहानगरपालिकाले आन्तरिक आम्दानीबाटै निर्माण सम्पन्न गर्ने भन्दै २० करोडको सभाहल निर्माण थालेको छ । प्रदेश र संघीय सरकारकाबाट सहयोग ल्याउन सकिने परियोजनामा हुँदै नभएको आन्तरिक आम्दानी खर्च गर्दा उपमहानगरपालिका झन् आर्थिक संकटमा फँस्ने सम्भावना बढ्दै गएको छ । त्यसो त विद्युत बस खरीद गर्दाको भुक्तानीसमेत उपमहानगरपालिकाले दिन सकेको छैन ।
यो वर्ष बजेटभन्दा बाहिर गएर खरीद तथा खर्च भएको भन्दै एमाले जनप्रतिनिधिहरुले असन्तुष्टी जनाउँदै आएका छन् । उपभोक्ताहरुको अघिल्लो वर्षदेखिका भुक्तानी दिन नसकिरहेको पालिकाले प्रक्रिया मिचेर सवारी साधन, बिजुली बत्ती आदि खरीद गरेको र बजेटको दुरुपयोग गरेको आरोप एमाले जनप्रतिनिधिहरुको छ । मेयर पौडेल भने एमाले जनप्रतिनिधिहरुले राजनीति गरेर काम गर्न नदिएको गुनासो गर्दै आएका छन् ।