काठमाडौँः पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा राष्ट्र निर्माण र विकासको मूल खम्बा हुनुपर्ने बताएकी छन  । 

अरूणोदय माध्यामिक विद्यालयको ६०औँ स्थापना दिवसका अवसरमा सुक्रबार काठमाडौंमा  आयोजित ‘अरूणोदय स्मारिका लोकार्पण’ कार्यक्रममा अबको शिक्षा राष्ट्रलाई आर्थिक रूपमा समृद्ध बनाई विकास गर्ने खालको हुनुपर्ने बताइन ।

“शिक्षालाई देशको विकास र राष्ट्रिय आवश्यकतासँग जोड्न जरुरी छ, शिक्षालाई मुलुक विकासको खम्बा बनाउनुपर्छ,” पूर्व राष्ट्रपति भण्डारीले भनिन, “सरकार स्थिर छ, यो बेलामा शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्न जरुरी छ, जसले रोजगारीको खोजीमा भौँतारिएका युवालाई रोजगार दिन सकोस् ।”

नेपाली शिक्षाको देशको माटो, स्रोतसाधनको अधिकतम प्रयोग गर्ने खालको हुनुपर्ने र शिक्षामा अधिकतम सूचना प्रविधिको प्रयोग गरी उत्पादनमा जोड्नुपर्ने उनको भनाइ थियो । अहिले नयाँ पुस्तालाई देशमा राख्नै कठिन भएको र विगतमा खचाखच हुने विद्यालय आजभोलि सुनसान हुने परिस्थिति देखा परेको उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले भनिन, “समय परिवर्तन भएको छ, आन्तरिक बसाइँसराइ पनि बढ्दो छ, सूचना प्रविधिको अधिक विकास भएको छ, यो सबै हेरेर शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ ।”  

कार्यक्रममा अरूणोदय माध्यामिक विद्यालयमा पढी राष्ट्रको विभिन्न ओहोदामा रहेर काम गर्ने व्यक्तित्वहरू नेपाल सरकारका सचिव लोकराज पराजुली, फ्रान्सका लागि पूर्व नेपाली राजदूत दीपक अधिकारी, पूर्व अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल, उपसचिव योगेश पराजुली लगायतलाई अरूणोदय गौरव सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले अरूणोदय स्मारिका लोकार्पण–२०८१ को लोकार्पण गरेकी थिइन । उक्त स्मारिकामा विद्यालयको स्थापना कालदेखि हालसम्मको इतिहास समेटिएको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद पराजुलीले जानकारी दिए ।