इटहरीः करिब तीन सय बर्ष अघिदेखि हुर्काइएका गुराँसका रुखहरु फुल्ने सिजनमै केबलकार निर्माण कम्पनीले धमाधम कटान थालेको छ । प्राकृतिक रुपमा महत्व बोकेका यस्ता ऐतिहासिक रुखहरु विकासका नाममा धमाधम कटान हुँदा पहिचानवादी बाहेक अन्य सरोकारवालाहरु मौन बसेका छन् । 

सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिए लगत्तै  केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको हो। रुख कटानसँगै सरकार बल प्रयोग गरेरै अब अगाडि बढ्ने बुझिएको छ । 

बुधबार बिहान १७ प्रतिशत कटान सकिएको र अब बटम स्टेसन आसपासका केही रूख मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ। यसअघि गत जेठको पहिलो हप्ता ८० प्रतिशत रूख कटान गरेको थियो। 

वार्ता समितिले गरेको ६ बुँदे सहमतिमा बटम स्टेसन माथिको काम नगर्ने उल्लेख थियो। तर आन्दोलनरत समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेपछि रूख कटान गरिएको कम्पनीले जनाएको छ। 

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार ठूला रूख २१ सय १४ वटामा टाँचा लगाइएको थियो। ठूला, साना, पोथ्रा, पोथ्री गरी छ हजार रूख कटान हुने उल्लेख छ। यस्तै बटम स्टेसनको काम पनि जारी रहेको कम्पनीले जनाएको छ। 

यता प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले अवस्थाको मध्यनजर गर्दै सुरक्षाको व्यवस्था गरिएको बताएका छन । 

यस्तै केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले आफूहरूमाथि राज्यले अन्याय गरेको बताए । वार्तापछि समितिले घोषणा गरेको दोस्रो चरणको आन्दोलन अब कुनै पनि शर्तमा नरोकिने बताए ।