वराहक्षेत्रः  डेढ दशकअघि परबलको उत्पादन बढी हुने सुनसरीको श्रीलङ्का टापु क्षेत्रमा अहिले गोलभेँडा धेरै उत्पादन हुन थालेको छ । अहिले श्रीलङ्का टापु क्षेत्रबाट दैनिक १० टन गोलभेँडा धरान कृषि उपज बजार स्थलमा पुर्‍याइने गरेको छ । 

टापु क्षेत्रमा गोलभेँडा उत्पादन बढेसँगै पूर्वी नेपालमा दैनिक आयात हुँदै आएको भारतीय गोलभेँडालाई समेत प्रतिस्थापन गरेको धरान कृषि उपज बजार स्थलका प्रबन्धक लक्ष्मण भट्टराईले बताए। उनले भने, “गत वर्षसम्म धरान कृषि उपज बजार स्थलमा दैनिक पाँचदेखि १० टन भारतीय टमाटर आयात हुँदै आएको थियो । यस पटक श्रीलङ्का टापुका किसानले उत्पादन गरेको गोलभेँडाले भारतीयलाई विस्थापित गरेको छ ।” पहिला भारत र झापाबाट धरान बजारमा गोलभेँडा आउने गरेकोमा यस पटक भने टापुकै गोलभेँडाले बजार लिइरहेको छ ।

कम विषादीको प्रयोग र अर्गानिक रूपमा टमाटर उत्पादन भएकाले पनि बजारमा त्यसको माग बढेको उनले बताए। धरान कृषि उपज स्थलमा दैनिक गोलभेँडा, फूलकोपी, बन्दाकोपी, भेडेखुर्सानी, अकबरे खुर्सानी, बेसार, साग, काँक्रा, इस्कुस, बोडीलगायतका एक सय टन तरकारीको दैनिक कारोबार हुने गरेको छ । उपज स्थलमा व्यापारीले सङ्कलन गरेको तरकारी पहाड र मधेशका जिल्लामा जाने गरेको धरान उपज केन्द्रले जनाएको छ । 

गहुँ, मकै, कोदो, बदाम, तरकारी, उखु, बेसार लगाएर जीविका चलाउँदै आएका टापुवासी गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुने भएपछि व्यावसायिक रूपमै उन्नत जातको गोलभेँडा खेतीमा लागेको टापुका कृषक अनिल चन्द्रवंशीले बताए । एक बिघा क्षेत्रफलमा गोलभेँडा खेती लगाएका उनले १० लाख रुपियाँको बेचेको बताए।

धरान कृषि उपज बजार स्थलबाट आउने व्यापारीले बारीबाटै गोलभेँडा खरिद गरिदिँदा किसानले उत्पादन गरेको गोलभेँडा सहज रूपमा बिक्री हुँदै आएको छ । टापुमा उत्पादन भएको गोलभेँडा अरूभन्दा राम्रो भएकाले उपभोक्ताको रोजाइमा समेत टापुको गोलभेँडापर्ने गरेको धरान कृषि उपज केन्द्रले जनाएको छ । श्रीलङ्का टापु क्षेत्रमा २० बिघाभन्दा बढी क्षेत्रफलमा किसानले व्यावसायिक रूपमा गोलभेँडा खेती गर्दै आएका छन् । 

गोलभेँडा खेतीमा मल्चिङ प्रविधिसहित बाँस, धागो, मल, विषादी, भिटामिन, जोताइसहित प्रतिबिघा चार लाख रुपियाँ लगानी गरेका कृषकले १५ देखि २० लाखभन्दा बढीको गोलभेँडा बिक्री गर्दै आएको कृषक रोशिक चन्द्रवंशीले बताए। 

दैनिक बजार भाउ अनुसार व्यापारीहरू कृषकको खेतमै पुगी मूल्य निर्धारण गरेर खरिद गरिदिँदा किसानले राम्रो भाउ पाएको अर्का कृषक अर्जुन चन्द्रवंशीले बताए। कृषक अर्जुनले तीन बिघा, सत्यनारायण चन्द्रवंशीले एक बिघा, रोशिक चन्द्रवंशीले एक बिघा १० कट्ठा, प्रताप चन्द्रवंशी, लक्ष्मी चन्द्रवंशीले एक बिघामा गोलभेँडा खेती लाउने प्रतिनिधि किसान मात्र हुन् । 

किसानले बारीबाटै व्यापारीलाई पहिलो टिपाइमा प्रतिकेजी ८० रुपियाँका दरले गोलभेँडा बिक्री गरेको कृषक रोशिक चन्द्रवंशीले बताए । पछिल्लो समय पनि कृषकले प्रतिकेजी २० रुपियाँका दरले व्यापारीलाई बिक्री गर्दै आएका छन् । 

वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ र बेलका नगरपालिकाको २ र ३ वडामा पर्ने श्रीलङ्का टापु उर्वर भूमि भएकाले उब्जनीका लागि राम्रो मानिन्छ । नदीको बिच भागमा रहेको टापु क्षेत्रमा मुख्यतः कृषि र पशुपालन व्यवसाय गर्दै आएका छन् । टापु क्षेत्रको अनुकूल वातावरणका कारण कृषि उपज र पशुपालनका लागि उपयुक्त भएकाले गोलभेँडा खेती फस्टाएको कृषक सत्यनारायण चन्द्रवंशी बताउछन । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।