खोटाङः खोटाङमा आयोजित “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१” ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’ जारी गर्दै शनिबार सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन गरिएको यस ऐतिहासिक सम्मेलनले बाँसले दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवद्र्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वासका साथ व्यापक सहभागिताबीच समापन गरिएको हो ।
सम्मेलनबाट जारी भएको ‘खोटाङ घोषणा–पत्र’मा बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’को रूपमा पहिचान दिलाउन पहल गर्ने महत्वपूर्ण निर्णय समावेश गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न यस सम्मेलनले जारी गरेको घोषणापत्रमा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन शुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, साथै प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने घोषणापत्रमा जनाईएको छ ।
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नारासहित फागुन १५ गतेदेखि शुरु गरिएको यस सम्मेलनले बाँसको अपार सम्भावनालाई सम्बोधन गर्दै फागुन १७ गते औपचारिक रूपमा समापन भएको हो । खोटाङ घोषणा–पत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतको रूपमा परिभाषित गर्दै यसले नेपालको दिगो विकास र वातावरण संरक्षणमा खेल्न सक्ने महत्वपूर्ण भूमिकालाई रेखाङ्कित गरिएको छ । सम्मेलन अवधिभर बाँससँग सम्बन्धित नीति निर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरण लगायतका विषयमा ४४ जना विज्ञ तथा अध्येताबाट प्रस्तुत गरिएका २३ वटा कार्यपत्रको निचोडको आधारमा उक्त घोषणा–पत्र तयार पारिएको हो ।
घोषणा–पत्रमा बजारको माग अनुसार बाँसका विविध प्रजातिको व्यवसायिक खेती प्रवद्र्धन गर्ने, बाँसका बिरुवाको उत्पादन तथा खेती विस्तार गर्ने, नदी किनार, बाँझो जग्गा, सामुदायिक वन तथा गैर–कृषिभूमिमा बाँस रोपणलाई प्रवद्र्धन गर्ने जस्ता महत्वपूर्ण बुँदाहरू समावेश गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले बताए । यसका साथै, बाँस खेतीसम्बन्धी अध्ययन, अध्यापन, अनुसन्धान तथा ज्ञान आदान–प्रदानलाई प्रोत्साहित गर्ने, स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत ज्ञानको संरक्षण गर्दै पुस्तान्तरण गर्ने र बाँसमा आधारित उद्योगमा दक्षता र उत्पादन गुणस्तर सुधार गर्न रणनीतिक व्यवसायिक नमूना विकास गर्ने बुँदाहरू पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा औपचारिक रूपमा उद्घाटन गरिएको सम्मेलनमा नजिकै रहेको माटिकोरे खेल मैदानमा बाँसका सामग्रीसहित विभिन्न ५१ वटा स्टलहरू प्रदर्शनीका लागि राखिएको थियो । नगरपालिकाले वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश सरकार र ग्रिन ब्याम्बो क्रियसन ललितपुर लगायतका संस्थाहरूसँगको सहकार्यमा बाँस सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा संघीय सांसदहरू, प्रदेशका मन्त्री र सांसदहरू, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुखहरू, जिल्लाका दशवटै स्थानीय तह तथा जिल्ला बाहिरका स्थानीय तहका प्रमुखहरूको उपस्थिति रहेको थियो । नगर उपप्रमुख विशन राईका अनुसार नेपालको इतिहासमा पहिलो पटक आयोजित यस राष्ट्रिय बाँस सम्मेलनलाई सरकारी तथा गैर–सरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौँ विद्यार्थीहरूले अवलोकन गरेका छन् ।
सम्मेलनको अवसरमा बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न प्रोत्साहित गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिहरूलाई बाँसको कुर्सीसमेत उपहार दिने निर्णय गरिएको छ । यसले सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न खबरदारी गर्ने उद्देश्य राखेको आयोजकहरुले जनाएका छन् । बाँस सम्बन्धी काम गरिरहेका विभिन्न निकायहरूसँगको सहकार्यमा तीनवटै तहका सरकारको संयुक्त आयोजनामा सम्पन्न भएको सम्मेलनले स्थानीय बाँस उद्यमी तथा व्यवसायीहरूमा उत्साह थपेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।