पाँचथरः झापा–११ ले पाँचथरको फिदिममा सम्पन्न १० औँ अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको उपाधि हात पारेको छ ।

सोमबार भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दैै झापा–११ ले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

उपाधिसँगै झापाले नगद ४ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको आर्मीले २ लाख रुपैयाँ पाएको छ । झापालाई जिताउन पूजन उपरकोटी एक्लैले खेलको २३ आँै र ८३ औँ मिनेटमा गोल गरेका थिए । जवाफमा आर्मीका तर्फबाट राजीव गुरुङले खेलको ७२ औँ मिनेटमा सान्त्वनामार्फत् एक गोल फर्काए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी झापाका दिलेन लोक्तामले यमाहाको १ सय २५ सिसीको मोटरसाइकल प्राप्त गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका आर्मीका राजीव गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए । यस्तै हाइ स्कोरर झापाका कर्ण लिम्बू घोषित भए ।

बेस्ट फरवाड झापाका दिलेन लोक्ताम, बेस्ट मिड फिल्डर झापाकै पूजन उपरकोटी, बेस्ट डिफेन्स आर्मीका युद्ध शाही घोषित भए । राइजिङ प्लेयर आयोजक फिदिम स्पोर्टिङ क्लबका प्रवीण जबेगू भए भने बेस्ट कोच झापाका प्रवेश कटुवाल भए ।

गत पुस २१ गतेबाट शुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।

Maghesankranti Mahotsav namje