७१ बर्षे इतिहास बोकेको राइस मिल बैंकले यसरी पार्यो ध्वस्त
प्रेम बास्तोला
इटहरीः कोरोना महामारी पछि विश्वअर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रमा पनि गम्भिर असर पारेका कारण व्यवसायीहरु थला परिरहेको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले राहत दिनुको साटो व्यवसायीहरुको जायजेथा(सम्पती) कब्जा गर्ने ध्याउन्नमा लागेको पाइएको छ ।
आर्थिक बन्दका कारण व्यपार व्यवसायहरु ठप्प भएका कारण बैंकबाट लिईको ऋणको साँवा व्याज तिर्न नसकेका ऋणीहरुलाई बैंकहरुले अनावश्यक तनाव दिनुका साथै करौंडोको सम्पती कौडिका भरमा लिलाम गरी घरको न घाटको बनाईरहेको छ ।
यसको पछिल्ला उदाहरण हुन्,इटहरी उपमहानगरपालिकाका निर्वतमान वडाध्यक्ष दीपनारायण चौधरी । उनले कृषिमा आधारित राइस मिल संचालनका लागि ग्लोबल आईएमई इटहरी शाखाबाट ५ करोड ऋण लिएका थिए । कान्छी मन्सुली, जिरा मसिनो चामल उत्पादन गर्दै आएको उनको राइस मिलमा ६० जनाले प्रत्यक्ष रोजगार पाएका थिए ।
१६ कठ्ठा जग्गा बैंकमा धितो राखेर १४ कठ्ठा क्षेत्रफल प्रयोग गरि चौधरीले राइस मिल संचालन गरेका थिए ।
कोरोनापछिको आर्थिक मन्दीसँगै व्यवसाय चौपट भएपछि चौधरीले समयमा बैंकलाई साँवा र व्याज हाल्न सकेका थिएनन् । बैंकको सल्लाह अनुसार नै २ बर्षका लागि साँवा व्याज हाल्ने समय पाउने आश्सावन आएका चौधरीले ७ महिना अघि मात्रै मिल राखेको संरचना नै भत्काएर ५५ लाखमा मिल सप्तरीका व्यवसायीलाई बिक्री गरेका छन् । मिल बिक्रीबाट आएको ५५ लाख एकमुष्ट बैंकलाई तिरेका उनले २ बर्षे समय अवधि नै पाएनन् ।
बैंकले उनको १६ कठ्ठा जग्गा नै लिलाम गरी यसबेला रियलस्टेटमा परिर्वतन गरेको छ । मिल संचालन भएकै स्थानमा रहेको घरमा बसोबास गरिरहेका चौधरीलाई दिनरात बैंकले घरबाट निकालेर सडकमा पुर्याईदिने, प्रहरी प्रशासन लगाएर घर खाली गराउने र जे पनि गर्न सक्ने भन्दै धम्की दिईरहेको चौधरीले बताए । मलाई समय दिन्छु भन्नु भएकाले मिल बेचेर ५५ लाख पैसा हालेको हुँ , किन समय नदिई अनावश्यक तनाव दिनुहुन्छ भन्दा बैंकको इटहरी प्रमुखले सुन्दै नसुनेको चौधरी बताउछन् ।
हालको चलनचल्ती अनुसार आफ्नो सम्पतीको मूल्य १५ करोड माथि छ । हाल बैंकको साँवा र व्याज गरी ५ करोड ९० लाख तिर्न बाँकी छ । तर,समय दिनुहोस् सबै ऋण तिर्छु भन्दा नसुनेर लिलाम उठाएर राइस मिललाई ध्वस्त बनाई रियलस्टेटमा परिणत गराएको चौधरीको भनाई छ । बैंकले दैनिक जसो दिने तनावका कारण आफु र आफ्नो परिवार मर्नु न बाँच्नुको अवस्थामा पुगेको चौधरी बताउछन् ।
सुक्रबार उनले संचालन गरेको राइस मिल परिसर पुग्दा मिल परिसर खण्डहरमा परिणत भएको थियो । सो स्थान पुगेका बैंक कर्जा व्यवस्थापन समिति इटहरीका संयोजक भोलाप्रसाद निरौंलाले कृषिमा आधारित उद्योगलाई बैंक र त्यसका माफियाहरुले कसरी ध्वस्त पार्दैछन् भन्ने एउटा गतिलो उदाहरण दीपनारायण चौधरीले संचालन गरेको मिल क्षेत्र आएर बुझे प्रष्ट भएको बताए । उनले अब इटहरी सहित देशभरबाट बैंकबाट ऋण लिएर पिडित भई सुकुम्बासी बनेकाहरु संगठित भईसकेकाले अब कुनै पनि हालतमा अरुको सम्पती ध्वस्त पार्ने र कब्जा गर्ने वातावरण बन्न नदिने बताए । बैंकबाट लिइएको ऋण नै नतर्ने भन्ने आफुहरुको मनसाय नभएको तर आर्थिक मन्दीका कारण नेपालको मात्र नभई विश्वकै अर्थतन्त्र डामाडोल भएकाले बैंकहरुले ऋणीहरुलाई ऋण तिर्नका लागि आवश्यक वातावरण निर्माण गरी सहजता प्रदान गर्नुपर्छ भन्ने मात्र आफुहरुको माग रहेको निरौंलाले बताए ।
सोही समितिका विज्ञ व्यवसायी ताराबहादुर कटवालले उसुलीका हिसाबले बैंक कसरी मिटरव्याजी हो भन्ने प्रमाणित दीपनारायण चौधरीको घटनाबाट भएको बताए । भएका उद्योगहरुलाई मासेर रियलस्टटेटमा परिर्वतन गरेर राष्ट्र बैंक र नीति निर्माताहरुले गर्न खोजेको के हो ? यसरी राष्ट्रको विकास हुन्छ ? नीतिगत रुपमा बैंकको स्क्याम हो । नेपालमा पनि बैंक मार्फत रियलस्टेट माफिया हावी हुन थालेका छन् । अब चुप लागेर बस्ने अवस्था नरहेकाले इटहरी सहित देशभरीका पिडित ऋणीहरु एक भईरहेको कटवालले बताए ।
नागरिक बचाउ अभियानका इटहरी संयोजक सरोज तामाङले दीपनारायण चौधरीको सम्पती कुनै पनि हालतले अरुलाई भोगचलन गर्न नदिने बताए । अबका केही दिनमा चौधरीको मिल रहेको १६ कठ्ठा जग्गामै राष्ट्रिय झण्डा गाँड्ने उनले बताए । जग्गा सस्तोमा पाइयो भनेर बैंकको भनाईमा लागेर खरिद गरे उसले बाँचुन्जेल दुःख पाउनुका साथै भोगचलन नै गर्न नपाउने उनले ठोकुवा गरे ।