विराटनगरः राष्ट्र बैंक मार्फत उठानीका नाममा मिटरव्याजीको कार्यगरी मर्नु न बाँच्नु को अवस्थामा पुर्याउने बैंक तथा वित्तिय संस्थाहरुको ज्यादती विरुद्ध विराटनगरका उद्योगी, व्यवसायीहरु एक भएका छन् । 

बैंकबाट शोषित भएका उद्योगी र व्यवसायीहरु शनिवार विराटनगरमा भई आगामी दिनमा बैंकहरुको ज्यादतीको खिलापमा लड्नका लागि बैंक कर्जा व्यवस्थापन समिति नै गठन गरेका छन् । पुष्पबिक्रम बस्नेतको संयोजकत्वमा ११ सदस्यीय समितिले क्रमश विराटनगरका सबै बैंकबाट शोषित र पिडितभएकाहरुलाई समेट्दै जाने निर्णय गरेका छन् । 

नेपालमै पहिलो पटक बैंकबाट शोषण र पिडामा परेका उद्योगी व्यवसायीहरुले स्वतन्त्र रुपमा बैंक कर्जा व्यवस्थापन समिति गठन गरेका थिए । केही साताअघि मात्रै इटहरीमा हार्डवेयर व्यवसायी भोलाप्रसाद निरौंलाको संयोजकत्वमा गठन भएको समिति देशभर फैलिएर जाने क्रममा शनिवार विराटनगरमा पनि निरौंला सहितको इटहरीको समितिका पदाधिकारीहरुको उपस्थितीमा बस्नेतको संयोजकत्वमा समिति गठन भएको हो । 

विराटनगर समितिका संयोजक महेश आर्चाय अर्थमन्त्री हुँदा उनी उनको स्वकीय सचिव भएर कार्य गरेका विराटनगरमा कहलिएका पुराना स्थापीत उद्यमी व्यवसायी हुन् । 

विराटनगरमा पछिल्लो समय बैंकहरुको आतंक थामि नसक्नु गरि बढ्दै गएको उद्योगी व्यवसायीहरुको भनाई थियो । १८ करोडको ऋणलाई व्याज खानकै लागि बढाउँदै लगेर ४५ करोडसम्म पुर्याउने काम गरेको उनीहरुले बताए । जिजु हजुरबुबाले कमाई जोगाएर राखेको पुर्खौली सम्पती लिलाम गर्ने र कालो सूचीमा राखेर आफुहरुलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको उनीहरुले बताए । केही दिनको समय माग्दा पनि अमानविय ढंगबाट रातको १२ बजे घरमै आएर जवरजस्ती कागजमा सहि छाप गराएर व्याज र हर्जना लिने नाममा पैसा खाएको पिडित उद्योगी व्यवसायीहरुले बताए । 

बैंकले विराटनगरका कुनै पनि उद्योगी व्यवसायीलाई अनावश्यक तनाव दिने, कालोसूचीमा राख्नका लागि पत्रचार गर्ने, धितो लिलामीका लागि प्रकृया अगाडि बढाउने, अनेकन जालमा पारेर पैसा असुल्ने जस्ता कार्य बस्नेतको संयोजकत्वमा गठन भएको समितिले आगामी दिनहरुमा गर्न नै नदिने निर्णय पनि गरेका छन् । समितिले विराटनगर महानगरपालिका भित्रका उद्योगी व्यवसायीलाई समस्या पर्नसाथ समितिका जिम्मेवार व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेको छ । अब बैंक ज्यादती सहेर नबस्ने र शसक्त ढंगबाट प्रतिवादमा उत्रने निर्णय पनि गरेका छन् । 

शनिवारको भेलाले समिति गठनसँगै अबका दिनमा बैंकलाई व्याज नतिर्ने, डिपोजिट नै बन्द गर्ने र लिलामीका लागि बैंकले स्थानीय तहसँग लिने सिफारिस तत्काललाई नदिनका लागि वडाहरुमा पहल गर्नेसम्मको निर्णय पनि गरेको छ । 

उनीहरुले बैंक मार्फत कोशी प्रदेश मुख्य सहरहरुमा घरजग्गा लिनका लागि ब्रोकरहरु परिचालन गरेको दावी गर्दै उनीहरुलाई पनि खबरदारी गर्न जरुरी रहेको बताए । सहरको राम्रो लोकेशनमा बैंकले लिलाम गरेका घरजग्गा सस्तोमा पाईन्छ भन्ने भास्य सृजना गरी ब्रोकरहरुलाई उस्काई ऋणीहरुको करौंडोको सम्पती कौडिका भाउमा लिलाम मार्फत आफ्नो नाममा पार्न लागेको उनीहरुले बताए  । समितिले यी सबै कार्य अब असफल बनाएरै छाड्ने समिति सदस्य व्यवसायी शशीभूषण साहले बताए । 

उनले नीति बनाउने राष्ट्र बैंक, राष्ट्र बैंक चलाउने सरकारको अर्थमन्त्रालय र सरकार चलाउने राजनितिकदलका कारण आज देशभरका ऋण लिएर उद्योग व्यवसाय चलाएका ४० लाखबढी उद्योगी व्यवसायीहरु मर्नु न बाँच्नुको अवस्थामा पुगेकाले नीतिगत सुधारका लागि पनि लडाई गर्ने बताए । 

शनिवार विराटनगरमा भएको भेलामा इटहरीबाट गएका नर्गेन्द्र श्रेष्ठ, कुमार श्रेष्ठ , ताराबहादुर कटवाल, गणेश कटवाल, निर्मला कार्की, नारायण वाग्ले लगायतले आ आफ्नो धारणा राखेका थिए । 

विराटनगरको समितिका सदस्यहरु सुशिल रेग्मी, अमित कुमार शाह, पुनित पौडेल, सौरभ शाह, भविष निरौंला, रोहित दाहाल, मनोज भट्टराई, प्रविन्दा निरौंला र आशिष खनालले बैंक आफुहरुलाई दिईरहेको तनाव सबै माझ राखेका थिए ।