इटहरी: प्रथम संस्करणको सुब्बा फुटसल कप इटहरीको उपाधि राम अधिकारीको समूह ग्रुप इ ले उचालेको छ । सुनसरी जिल्ला भित्र रहेका म्यानपावर कम्पनी र मेडिकल सेन्टर बिच आयोजना गरिएको प्रतियोगितामा म्यानपावर व्यवसायी तर्फबाट ग्रुप इ ले म्यानपावर व्यवसायीको ग्रुप सी लाई ४-२ गोल अन्तरले उपाधि जितेको हो ।

शनिवार इटहरी ५ स्थित पाथीभरा फुटसल मैदानमा आयोजित प्रतियोगितामा उपाधि जित्दै ग्रुप इ ले ५० हजार रुपैयाँ नगद रनिङ सिल्ड ट्रफी र मेडल हात पार्न सफल भयो भने उपविजेता ग्रुप सी ले ३० हजार रुपैयाँ नगद, ट्रफी र मेडल हात पार्न सफल भयो । त्यस्तै तेस्रो स्थानमा भने ग्रुप बिले २० हजार रुपैयाँ नगद र सिल्ड हात पार्यो । 

विजेता टिमहरूलाई प्रमुख अतिथि सुनसरी वैदेशिक रोजगार हकहित सङ्घका अध्यक्ष चंखमान तामाङ र आयोजक सगुन ओभरर्सिज सर्भिसेस प्रा।ली इटहरीका प्रबन्ध निर्देशक बिरेन सुब्बा तथा अतिथिहरूले पुरस्कार र नगद हस्तान्तरण गरेका थिए ।

यस्तै प्रतियोगिताको म्यान अफ द म्याच दीपक बस्नेत बन्न सफल भएका छन् । वेस्ट हाई स्कोरको उपाधि भने आसिक तामाङले जिते । राइजिङ प्लेयरको उपाधि देवेन्द्र गुरुङ, बेष्ट गोलकिपर सन्तोष थापा र वेस्ट प्लेयर दिल बहादुर लिम्बु बन्न सफल भएका थिए । सबैलाई विधागत ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा एक मेडिकल टिमसहित ६ वटा म्यानपावर कम्पनीको टिमबिच प्रतिस्पर्धा गराइएको थियो । 

प्रतियोगिताको सह आयोजक सुनसरी मल्टिपल ट्रेनिङ सेन्टर र सनसाईन मेडिकल एन्ड डाईग्नोष्टिक सेन्टरले गरेको थियो । प्रतियोगितामा सुनसरी जिल्ला भरका म्यानपावर व्यवसायी र मेडिकल सेन्टरका सञ्चालकहरूको उपस्थिति रहेको थियो ।  आयोजक सगुन ओभर्सिज सर्भिसेस प्रा।लिका प्रबन्ध निर्देशक बिरेन सुब्बाले प्रथम संस्करणको रूपमा व्यवसायी र मेडिकल सेन्टरबिच प्रतिस्पर्धा गराइएको जानकारी दिए ।

यस्तै प्रत्येक वर्ष पुरस्कार राशि समेत वृद्धि गरिने र सुब्बा कपलाई सामाजिक रूपमा सबैमाझ जोड्दै जाने आफ्नो योजना रहेको सुब्बाले बताए । प्रतियोगिताले म्यानपावर व्यवसायीहरू बिचको एकता र सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजाने प्रबन्ध निर्देशक सुब्बाको भनाई छ ।