प्रेम बास्तोला

इटहरीः उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनका बेला मात्रै अध्यक्षका उम्मेदवारले व्यक्तिगत रुपमा लाखौं खर्च गरेर उद्योगी व्यवसायीहरुको फर्म नविकरण गर्ने र निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने चलनको अब अन्त्य हुने भएको छ । 

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष पदमा निर्वाचित भई आएको बर्षबाटै जीवन पराजुलीको नेतृत्वको टिमले इटहरी क्षेत्रका उद्योगी व्यवसायीहरुले  ‘‘आफ्नो फर्म आफै नविकरण’’  गर्नु पर्छ भन्ने मान्यतालाई स्थापित गराउनका लागि नविकरणको कार्य अगाडि बढाएको हो । निश्चित समयका लागि ६ जना करार कर्मचारी नै नियुक्ती गरी फर्म नविकरणका लागि उद्योग व्यवसायीहरुको ढोका ढोकामा पठाउने गरिएको छ । 

चालु आर्थिक बर्षमा पनि यहि असार १ गतेबाट ३० गतेसम्मलाई समय तोकेर करारका कर्मचारीहरु परिचालन गरिसकेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए । 

उनका अनुसार चालु आर्थिक बर्षको असार ३० गतेभित्रमा जस जसले आफ्नो फर्म आफै नविकरण गर्नुभयो, वहाँहरुलाई मात्र मतदान गर्ने अधिकार रहने छ । सोही अनुसार सूचना बनाई इटहरी क्षेत्रका उद्योगी व्यवसायीहरुलाई जानकारी दिईसकेको पराजुलीले बताए । 

मेरो त छुट्यो, फलानोले गरिदिन्छु भनेको थियो, गरेन छन् । मेरो फर्म नविकरण गरिदिनुपर्यो भन्दै ०८२ असार पछि आउने कसैको फर्म नविकरण गर्दै नगर्ने अध्यक्ष पराजुलीले बताए । असार मसान्त भित्रमा नविकरण गराईसक्नेले मात्रै मतदान अधिकार पाउँने निर्णयबाट आफु कुनै हालतमा पछाडि नहट्ने उनले बताए । 

WhatsApp Image 2025-06-20 at 13.09.21_c320b5d7

उनका अनुसार नेतृत्व लिनुअघि भएको निर्वाचनका बेला ५ हजार ८ सय फर्महरु नविकरण भएका थिए । यो असार मसान्तसम्मका ३ हजार ५ सय फर्महरु नविकरण हुने अनुमान आफुले लगाएको उनले बताए । लगानी पुँजीका आधारमा फर्म नविकरण गर्दा न्यूनतम १ हजार देखि अधिकत्म १ हजार ५ सयसम्म शुल्क लाग्ने अध्यक्ष पराजुलीले जानकारी दिए । 

उद्योग वाणिज्य संघ इटहरीले सूचना बनाई दैनिक रुपमा सिटी रिक्सामा माईक लगाएर उद्योगी व्यवसायीहरुलाई जानकारी दिईरहेको पराजुलीले जानकारी दिए । 

पराजुलीले भने—‘मैले अध्यक्षको जिम्मेवारी लिएको बर्षबाटै एउटा स्टिम बसाँउ भन्ने उद्धेश्यले हरेक आर्थिक बर्षको असार मसान्तसम्ममा उद्योगी व्यवसायीहरु आफैले नविकरण गर्ने योजना ल्याएको र हरेक बर्ष सोही अनुसार नविकरण पनि भईरहेको छ ।’

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन आउन ५÷६ महिना बाँकी रहेपछि अध्यक्षका उम्मेदवार बजार डुल्ने उद्योगी व्यवसायीहरुलाई भेट्ने र फर्मका कागजात मागी लाखौ खर्च गरेर नविकरण गरिदिने चलन रहेको पराजुलीले बताए । त्यो चलन आफु अध्यक्षको उम्मेदवार बन्दासम्म कायम रहेको उनले बताए । सो चलनका कारण उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन ज्यादै मंहगो समेत बन्दै आएको उनले बताए । एउटा राम्रो भिजन भएको उद्योगी व्यवसायीहरुको हितमा का मगर्न चाहाने न्यून आय भएका व्यवसायीहरुले नेतृत्वका लागि दावी गर्न सक्ने अवस्था नै नबन्ने गरेको यर्थाथलाई आफुले नजिकबाट बुझेकाले असल अभ्यासको थालनी गरिएको अध्यक्ष पराजुलीले बताए । 

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिनेहरुले उद्योगी व्यवसायीहरुको फर्म नविकरणका लागि मात्रै कम्तीमा १५ देखि बढीमा २५ लाखसम्म खर्च गर्ने गरेका थिए । अध्यक्षका उम्मेदवारले प्रतिष्ठाको लडाई भन्दै निर्वाचनमा ५० लाखमाथिसम्म खर्च गर्दै आएका थिए । अबका निर्वाचनहरुमा उद्योगी व्यवसायीहरुले आफ्नो फर्म आफै नविकरण मात्र गरेमा अध्यक्षका उम्मेदवारहरुको निर्वाचन खर्चमा ६० प्रतिशतबढीले घट्ने पराजुलीको दावी छ । 

WhatsApp Image 2025-06-20 at 13.09.21_c7ab23d8 1

अध्यक्ष पराजुलीका अनुसार आफुले अध्यक्षको जिम्मेवारी लिनुअघि उद्योृगी व्यवसायीहरुको फर्म नविकरणको मात्र नभई अध्यक्षका उम्मेदवारहरुले आफ्नो पक्षमा मतपरिणाम पार्नका लागि नयाँ फर्महरु दर्ता गरिदिनेसम्मका काम भएको छ । त्यसरी अनाधिकृत रुपमा फर्म दर्ता गरी आन्तरिक राजस्व कार्यालय इटहरीबाट पान नम्बर लिई निर्वाचनमा मतदान गरि चुपचाप बस्दा करका ठूला ठूला समस्याहरु आएका छन् । कर कार्यालयले नियम अनुसार चल्नु पर्ने भएकाले आफ्नो प्रकृया अगाडि बढाउने उनले बताए । केही समय अगाडि त्यसरी मतका लागि मात्र फर्म दर्ता गरी पान नम्बर लिएर बसेका धेरै जनाका नाममा आन्तरिक राजस्व कार्यालय इटहरीले पत्र काटेर घर घरमै पुर्याउँदा निकै समस्या उत्पन्न भएको पराजुलीले बताए । अध्यक्ष भएको नाताले त्यस प्रकृतिका फर्महरुलाई बन्द गराउन राजस्व कार्यालय इटहरीसँग सहकार्य गरि धेरै फर्महरु बन्द गराएको उनले बताए । फर्म बन्द गराउँदा आर्थिक रुपमा फर्मकर्ताहरु पिडित हुन परेको अध्यक्ष पराजुलीले बताए । 

अबका बर्षहरुमा निर्वाचन ताका व्यवसाय नै नभएकाहरुका नाममा अनाधिकृत रुपमा फर्म दर्ता गर्ने पछि फर्म त्यसै छाड्ने अनि राजस्वको अनावश्यक झमेलामा पर्ने समस्याको अन्तयका लागि पनि उद्योग वाणिज्य संघ इटहरी गम्भिर भएर अगाडि बढेको अध्यक्ष पराजुलीले बताए । उनका अनुसार त्यसरी निर्वाचनका लागि फर्म दर्ता गरी पान नम्बर लिएका फर्महरु सुनसरीमा मात्र २५ हजारको हाराहारीमा रहेको आफुले तथ्यांक आन्तरिक राजस्व कार्यालयबाट प्राप्त गरेको अध्यक्ष पराजुलीले बताए । 

WhatsApp Image 2025-06-20 at 13.09.44_a1ecff65

अध्यक्ष पराजुलीको कार्याकाल २०८३ फागुन भित्र सकिँदैछ । उद्योग वाणिज्य संघ इटहरीको विद्यान अनुसार अध्यक्षले निर्वाचनका लागि कार्यकाल ३ महिना थप्न सक्ने प्रावधान छ । त्यो हुँदा इटहरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि २०८३ जेष्ठसम्मका लागि कुर्न नै पर्ने देखिन्छ । 

अध्यक्ष पराजुलीले भने —‘म विद्यान अनुसार नै अनावश्यक समय लम्बाएर कुर्सी बसिरहन्न । सक्षम व्यक्तिहरुको नेतृत्वमा वाणिज्य संघ अगाडि बढेको हेर्न चाहान्छु । ’ सकेसम्म नयाँ पुस्ताका युवाहरु अबको नेतृत्वमा आउन भन्ने आफ्नो भित्र इच्छा भएपनि त्यस्तो व्यक्ति तयार भएको आफुले नपाएको अध्यक्ष पराजुलीले बताए । नयाँ पुस्ताका युवाहरुलाई नै नेतृत्व हस्तान्तरण गर्ने उद्धेश्यले आफुले अध्यक्ष जितेपछि टिम बनाउँदा इटहरीका आशालाग्दा युवा व्यवसयासीहरुलाई बिभिन्न महत्वपूर्ण जिम्मेवारी प्रदान गरेतापनि अपेक्षा गरे अनुसार युवासाथीहरु अगाडि बढ्न नसकेकोमा आफु दुःखी भएको अध्यक्ष पराजुलीले बताए ।