इटहरीः सुशासनको भाषण दिन नथाक्ने इटहरी उपमहानगपालिकाका मेयर हेमकर्ण पौडेल बेरुजु फछ्र्यौट गराउने मामिलामा कमजोर देखिएका छन् । महालेखा परिक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको लेखा परिक्षण प्रतिवेदन अध्ययन गर्दा देशभरका ११ वटा उपमहानगरपालिका मध्ये सबैभन्दा बढी बेरुजु इटहरी उपमहानगरपालिकाको देखिएको हो ।
बेरुजु फछ्र्यौट गराउने मामिलामा मेयर पौडेलले राम्रोसँग कर्मचारीहरुलाई निर्देशन नदिएको यो आकडाले पुष्टि गरेको छ । उनी बेरुजु घटाउनुको साटो बढाउन तर्फ बढी केन्द्रित भएको देखिएको छ । बेरुजु बढ्ने गरी जथाभावी रुपमा बजेट खर्च गरेको पाइएको छ ।
छिमेकी उपमहानगर धरानले बरु आर्थिक बर्ष २०८०/२०८१ म ७ करोड बढी बेरुजु फछ्र्यौट गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखाले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/२०८१ को लेखा परिक्षण प्रतिवेदन अनुसार इटहरी उप महानगर पालिकाकाको बेरुजु १ अर्ब २६ करोड ९१ लाख ६७ हजार ५७८ पुगेको छ । त्यो असुल गर्नु पर्ने, प्रमाण पेस गर्नु पर्ने, पेस्की मिलान गर्नुपर्ने लगायतको बेरुजु हो ।
आर्थिक बर्ष २०८०/२०८१ म मात्रै १६ करोड २१ लाख १२ हजार ५७८ रूपैयाँ बेरुजु थपिएको छ । यो बीचमा बेरुजु फछ्र्यौट शून्य देखिन्छ ।
इटहरीमा असुल गर्नुपर्ने बेरुजु ५४ लाख १३ हजार ८४९ रूपैयाँ छ । यस्तै २०८०/८१ मा ४ करोड, ५४ लाख ९२ हजार ४९० रूपैयाँ अनियमितरूपमा खर्च गरिएको देखाइएको छ ।
प्रमाण पेस गर्नुपर्ने बेरुजु ६ करोड ७९ लाख १३ लाख ६६५ रूपैयाँ छ । इटहरीमा २०७९/८० सम्म १ अर्ब १० करोड ७० लाख ५५ हजार रूपैयाँ बेरुजु थियो ।
इटहरीकै छिमेकी धरान उप महानगरपालिकामा भने आर्थिक वर्ष ८०÷८१ मा ८ करोड करोड ७६ लाख ९७ हजार रूपैयाँ बेरुजु थपिएको छ । योसँगै धरानको कुल बेरुजु ४१ करोड ९६ लाख ७३ हजार ५९७ रूपैयाँ बेरुजु पुगेको छ ।
आर्थिक वर्ष ८०/८१ मा १ करोड ६७ लाख २६ हजार रूपैयाँ प्रक्रियामा फछ्र्यौट भएको छ ।
महालेखाले ८५ लाख ३८ हजार रूपैयाँ असुल उपर गर्नुपर्ने, ३ करोड १४ लाख ९९ कागजात पेस गर्नुपर्ने र २ करोड ३२ लाख ५१ हजार रूपैयाँ नियमित गर्नुपर्ने औँल्याएको छ ।
धरान उपमहानगरमा गत वर्षसम्म ४२ करोड ९० लाख २५ हजार रूपैयाँ बेरुजु रहेकोमा यो वर्ष कुल अद्यावधिक बेरुजु ४१ करोड ९६ लाख २५ हजार रूपैयाँ कायम भएको हो । धरानमा परीक्षण गरिएको यस वर्ष ७ करोड १२ लाख ५३ हजार ५४० रूपैयाँ फछ्र्यौट भएको छ ।