प्रेम बास्तोला
इटहरीः सुनसरीका १२ स्थानीय तह मध्ये बेरुजु फछ्र्यौटमा हरिनगर गाउँपालिका अगाडि देखिएको छ । त्यसपछि गढी गाउँपालिका देखिएको छ ।
महालेखा परिक्षकको कार्यालय काठमाडौंले बुझाएको लेखाप्रतिवेदन अनुसार हरिनगर गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ मा बेरुजु २४ करोड ३५ लाख ५४ हजार देखिएको छ । सो पालिकामा आर्थिक बर्ष २०७९/२०८० मा बेरुजु २६ करोड ४ लाख ४१ हजार थियो । यो पालिकाले सबैभन्दाबढी २ करोडबढी बेरुजु फछ्र्यौट गरेको पाइएको छ ।
त्यस्तै गढी गाउँपालिकाको आर्थिक बर्ष २०७९/२०८० मा बेरुजु रकम १५ करोड ६४ लाख ६५ हजार थियो । आर्थिक बर्ष २०८०/०८१ मा १४ करोड २३ लाख ८८ हजार बेरुजु कायम भएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।
एक बर्षमा गढी गाउँपालिकाले १ करोड ४० लाख भन्दाबढी बेरुजु रकम फछ्र्यौट गरेको महालेखाले दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बर्जु गाउँपालिकाको बेरुजु आर्थिक बर्ष २०८०/०८१ मा २५ करोड १६ लाख ३५ हजार रहेको देखिएको छ । सो गाउँपालिकाको आर्थिक बर्ष २०७९/२०८० को बेरुजु २२ करोड ६१ लख ९ हजार थियो । यो गाउँपालिकामा बेरुजु घटाउनका लागि काम गरेको देखिएन ।
सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ के बेरुजु २६ करोड २८ लाख ९७ हजार कायम भएको छ । सो पालिकामा आर्थिक बर्ष २०७९/२०८० मा २१ करोड ८५ लाख ६३ हजार मात्र बेरुजु रहेको महालेखाले जनाएको छ ।
कोशी गाउँपालिकाको हालत पनि उस्तै छ । सो पालिकाको बेरुजु आर्थिक बर्ष २०८०/०८१ मा २४ करोड ६५ लाख ३४ हजार बेरुजु देखिएको छ । सो पालिकामा आर्थिक बर्ष २०७९/२०८० मा १९ करोड ४९ लाख ९० हजार मात्र बेरुजु थियो ।
देवानगञ्ज गाउँपालिकाको बेरुजु आर्थिक बर्ष २०८०/०८१ मा ३० करोड ९२ लाख ६५ हजार कायम भएको छ । यो पालिकामा आर्थिक बर्ष २०७९/२०८० मा १८ करोड ६९ लाख १८ हजार मात्र बेरुजु देखिएको थियो । यो पालिकामा १२ करोडबढी बेरुजु थपिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सुनसरीका ४ नगरपालिकामा कुनैले पनि बेरुजु घटाउन खासै काम गरेको देखिदैन । महालेखा परिक्षकको कार्यालयले बुझाएको लेखाप्रतिवेदन अनुसार जिल्लाका दुहबी, रामधुनी, इनरुवा र बराहक्षेत्र नगरपालिकाले बेरुजु फछ्र्यौटको साटो बढाउने काम गरेको पाइएको छ ।
दुहबी नगरपालिकाको आर्थिक बर्ष २०८०/२०८१ मा बेरुजु ४१ करोड ७३ लाख ७० हजार कायम भएको छ । यो नगरमा आर्थिक बर्ष २०७९/०८० मा ३८ करोड ९ लाख ६२ हजार बेरुजु थियो ।
रामधुनी नगरपालिकामा आर्थिक बर्ष २०८०/२०८१ मा बेरुजु ३७ करोड ६६ लाख ९ हजार कायम भएको छ । यो नगरमा आर्थिक बर्ष २०७९/०८० मा ३१ करोड ४७ लाख ८७ हजार बेरुजु थियो ।
बराहक्षेत्र नगरपालिकाको आर्थिक बर्ष २०८०/२०८१ मा बेरुजु ३० करोड ५० लाख २३ हजार कायम भएको छ । यो नगरमा आर्थिक बर्ष २०७९/०८० मा २५ करोड ८० लाख ७३ हजार मात्र बेरुजु थियो ।
जिल्लाका दुई उपमहानगर मध्ये इटहरी उपमहानगरपालिकाको बेरुजु सबै भन्दा बढी देखिएको छ । देशभरका ११ उपमहानगर मध्ये इटहरीकै बेरुजु बढी देखिएको हो । यो उपमहानगरको आर्थिक बर्ष २०८०/२०८१ मा बेरुजु १ अर्ब २६ करोड ९१ लाख ६८ हजार कायम भएको छ । यो उपमहानगरको आर्थिक बर्ष २०७९/०८० मा बेरुजु १ अर्ब १० करोड ७० लाख ५५ हजार थियो ।
त्यस्तै धरान उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०/२०८१ मा बेरुजु ४१ करोड ९६ लाख ७४ हजार कायम भएको छ । यो नगरमा आर्थिक बर्ष २०७९/०८० मा ४१ करोड ९० लाख २५ हजार बेरुजु थियो । इटहरीको भन्दा यो उपमहानगरले थोरै भएपनि बेरुजु फछ्र्यौट गरेको महालेखाको लेखापरिक्षणको प्रतिवेदनले जनाएको छ ।