मोरङ : संखुवासभा तुम्लिङटारस्थित जेसिबीको आधिकारिक बिक्रेता लाइन विल्डर्स एन्ड कन्स्ट्रक्सन प्रालि, लाइन इन्जिनियरिङ वर्कसप र गोर्खा अर्थ मुर्वस प्रालिले मोरङका ३४ विद्यार्थीलाई विद्यालय पोसाक तथा जुत्ता सहयोग गरेको छ । सुन्दरहैचा नगरपालिका वडा नं. ४ मा रहेको साजिलाल माध्यमिक विद्यालयको सृजनशील ब्लकको कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई आवश्यक विद्यालय पोसाक र जुत्ता एक कार्यक्रम गरी बुधवार हस्तान्तरण गरिएको हो ।
विपन्न विद्यार्थी अध्ययनरत यस विद्यालयलाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यका साथ पोसाक र जुत्ता सहयोग गरेको लाइन विल्डर्स एन्ड कन्स्ट्रक्सन प्रालि सञ्चालक विकास लिम्बुले जानकारी दिए । आफ्नो गाउँ-ठाउँको विद्यालय समेत भएकाले कम्पनी मार्फत पोसाक र जुत्ता खरिद गरेर सहयोग गरिएको र यस कार्यलाई भविष्यमा निरन्तरता दिइने लिम्बुको भनाई छ । विद्यालयमा आयोजित कार्यक्रममा साजिलाल माबिका प्रअ श्याम बाबु काफ्ले शिक्षा तथा बालबालिकाहरूको हितमा गरिएको दान सर्वश्रेष्ठ दान भएकाले सहयोग गर्ने सबै प्रति धन्यवाद व्यक्त गरे । र यो विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्नको लागि यसरी नै सबैको सहकार्य अपरिहार्य हुने काफ्लेको भनाई छ । यस्तै सृजनशील ब्लकका प्रअ भजन कुमार सुवेदीले समेत सहयोग गर्ने कम्पनीका प्रतिनिधिहरूलाई आभार प्रकट गर्दै भोलीका दिनमा समेत यस्तै अन्य सहयोगको अपेक्षा गर्ने बताए ।
पोसाक तथा जुत्ता पाएपछि विद्यार्थीहरू उत्साहित बनेका थिए । प्राय विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु चप्पलको भरमा विद्यालय आउने गरेका थिए । विद्यालयलाई झन्डै ५० हजार रुपैयाँ बराबरको पोसाक र जुत्ता सहयोग गरिएको थियो । कार्यक्रममा कम्पनीका सेयर सदस्य दिलीप राई, रमिना सुब्बा, रेखा तामाङ र प्रदीप बास्तोला लगायतको उपस्थिति रहेको थियो । विद्यालयले सहयोग गर्ने कम्पनीका सञ्चालकहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान समेत गरेको थियो ।