धरानः  प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने प्रस्तावप्रति आफू सकारात्मक रहेको बताएका छन्।

शुक्रबार धरानबाट गएको सर्वदलीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर प्रतिष्ठानलाई ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान (छाता) ऐन २०८२’ मा समेट्न नहुने भन्दै ध्यानाकर्षण पत्र बुझाएको थियो। उक्त पत्र प्राप्त गरेपछि प्रधानमन्त्री ओलीले आफू पनि यही धारणा राख्ने बताउँदै सकारात्मक प्रतिक्रिया दिएका हुन्।

प्रतिनिधिमण्डलमा सहभागी नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, "प्रधानमन्त्रीले भन्नुभयो – 'मैले पनि यही चाहेको थिएँ, तपाईंहरूले साँचो विषय लिएर आउनुभयो।'"

पोखरेलका अनुसार प्रधानमन्त्रीले ध्यानाकर्षण पत्र ध्यानपूर्वक पढेका थिए र स्पष्ट रुपमा समर्थन जनाएका थिए।

प्रतिष्ठानलाई विश्वविद्यालयमा रूपान्तरण गर्नुपर्ने माग गर्दै सर्वदलीय टोली काठमाडौं गएको हो।

सरकारद्वारा संसद्मा प्रस्तुत गरिएको ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२’ मा बिपी सहित ६ वटा स्वास्थ्य प्रतिष्ठानलाई एउटै कानुनी छातामुनि ल्याउने प्रयास भइरहेको सन्दर्भमा धरानबाट उक्त पहल भएको हो।

प्रधानमन्त्री ओलीसँगको भेटपछि टोलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग पनि छलफल गरेको थियो।

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेल, नेकपा माओवादी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुब लिम्बू, नेकपा एमाले कोशी प्रदेश सदस्य भीम ज्वाला राई, मौसम राई, कुसुम ओली आचार्य, हिमाल श्रेष्ठ, सरोज सिटौला, धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद (मनोज) भट्टराईलगायत थिए।