इटहरीः असार १५ अर्थात् धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा नेपालमा मनाइँदै आएको छ । जस अनुसार देशभर उत्सवका रूपमा धान रोपाइँ हुँदै छ । 

प्रमुख खाद्यान्न बाली धान नेपालको खाद्य सुरक्षाको प्रमुख आधार मानिन्छ । धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धतिमा अभिन्न रहँदै आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले पनि हरेक वर्ष उल्लासपूर्ण उत्सवका रूपमा धान रोपाइँ गरिने कृषि विभागका महानिर्देशक तथा धान दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाशकुमार सञ्जेल बताउछन्। 

यो वर्ष प्रिमनसुनदेखि नै वर्षा राम्रो भएकाले धान राम्रो उत्पादन हुने अनुमान कृषि विज्ञले गरेका छन् । कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार पूर्वी नेपालमा धान रोपाइँ धमाधम सुरु भइसकेको छ । उनका अनुसार असार १५ अघि नै पर्याप्त पानी पुगेका स्थानमा धान रोपाइँ सुरु भएको हो । 

पश्चिम नेपाल र तराईका अधिकांश भूभागमा पनि यस वर्ष छिट्टै धान रोपाइँ हुने अनुमान रहेको कृषि मौसमविद् रिमाल औँल्याउछन्। जल तथा मौसम विज्ञान विभागका अनुसार असार १५ देखि कर्णाली, सुदूरपश्चिम, लुम्बिनीसहित तराईका भूभागमा राम्रो वर्षा हुँदै छ । यसले पनि धान रोप्न तयार भएका किसानमा खुसी छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को नारा ‘धान बालीमा सघनताः  खाद्यसुरक्षा र आत्मनिर्भरता’ रहेको छ । 

धान दिवस मूल समारोह समितिका अध्यक्ष सञ्जेलका अनुसार जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रयोग गर्दै सघन धान खेती (बर्खे र चैते) मार्फत उत्पादन एवं उत्पादकत्व बढाउँदै देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षातर्फ अग्रसर गराउने लक्ष्य लिइएको छ । 

चालु आर्थिक वर्षमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा १।२८ प्रतिशत कम क्षेत्रफलमा धान रोपाइँ भए पनि हालसम्मको उच्चतम औसत उत्पादकत्वसँगै अघिल्लो वर्षभन्दा ४।०४ प्रतिशतले धान उत्पादनमा बढोत्तरी भएको मन्त्रालयले जनाएको छ । अब पनि सोही अनुपात धान रोपाइँ हुँदै छ ।

नेपाललाई आवश्यक पर्ने करिब ७० लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टन धान अझै अपुग छ । फलस्वरूप गत जेठमा करिब ३८ अर्ब ९४ करोड रुपियाँ बराबरको धान, चामल र कनिका आयात गरिएको थियो । 

आगामी दुई वर्षमा धानमा आत्मनिर्भर बनाउने उद्देश्य यस वर्षको बजेटमा उद्घोष भएको छ । त्यसका लागि चैते धानमा क्षेत्रफल विस्तार गर्दै बर्खे धानमा उत्पादकत्व वृद्धि कार्यक्रम तिनै तहमा लैजाने मन्त्रालयले जनाएको छ ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट धानबालीका विभिन्न १४० भन्दा बढी जात दर्ता छन् । नेपालमा हाइब्रिड धानका जातको विकास भइरहेको र यसरी विकास भएका धानका जातको बिउको उपलब्धता सुनिश्चित गर्न बिउ वृद्धिका कार्यक्रम तिनै तहका सरकारमार्फत प्रवर्धनमा जोड दिइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित धानका २१ जोन र पाँच सुपरजोनमार्फत बर्से र चैते दुवै सिजनमा धानको सम्पूर्ण मूल्य शृङ्खला विकासमा कार्यक्रम सञ्चालन गरिने भएको छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।