विराटचोकः मोरङको सुन्दरहरैंचामा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ को डबल मेन्सतर्फको उपाधी सेनाको टिमले हात पार्न सफल भएको छ । 

बुधबार भएको मेन्स डबलको फाइनल खेलमा एपिएफका दिपेश धामी र विजित थापामगरको टिमलाई २१– १८ र २५–२३ ले हराउँदै सेनाका रत्नजीत तामाङ र नवीन श्रेष्ठको टिम उपाधी हात पार्न सफल भएकोे हो ।

यसअघि नै मेन्स सिङ्गल, मिक्स सिङ्गल, मिक्स डबल र माष्टर डबलको घोषणा भइसकेको थियो ।

मेन्स सिङ्गलमा दुबइ अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टनका विजेता तथा भर्खरै विराटनगरमा सम्पन्न राष्ट्रपति जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनका २ विधाका विजेता प्रिन्स दाहाल उपाधी हात पार्न सफल भएका थिए ।

फाइनल खेलमा प्रिन्सले टिएसीका प्रज्ज्वल महर्जनलाई २१–१३ र २१–१३ ले हराउँदै उपाधी जित्न सफल भएको हो । एएफपीका सुनिल जोशीलाई हराउँदै फाइनलमा पुगेका प्रफुल्लले प्रिन्सको सामना गर्न नसक्दा लज्जास्पद हार बेहोर्नुपरेको थियो ।

त्यस्तै, मिक्स डबलमा रञ्जित तामाङ र अनु राईको टिम तथा मास्टर डबलमा किरण प्रधान र योगेन्द्र श्रेष्ठको टिम विजयी भएको छ ।

दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस ग्राममा बुधबार भएको खेल समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट र सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले संयुक्त रूपमा विजयी खेलाडीलाई पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

पुरस्कार वितरण तथा समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्टले राज्यले हरेक स्थानीयपालिकामा कम्तीमा एउटा स्पोट्र्सग्राम निर्माण गर्ने अवधारणा ल्याएको बताए । नगरप्रमुख ढकालले नगरपालिका समग्र नगरको खेलकुद विकासमा लागिरहेको बताए ।

बिष्टले झण्डै २ करोडको लगानीमा निर्मित दुर्गादेवी दुलाल कभर्डहलको उद्घाटन पनि गरेका छन् ।