राजविराजः कार्यालय भित्रै आफूहरूमाथि कुटपिट गर्नैहरु उपर कडा कारबाहीको माग गर्दै सप्तरीको शम्भुनाथ नगरपालिकाका कर्मचारीहरुले शुक्रबार प्रहरी समक्ष उनीहरु विरुद्ध किटानी जाहेरी बुझाएका छन् ।
उक्त नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता, कार्यवाहक नगरप्रमुख अनिता चौधरीका सल्लाहकार अनिल भगत, स्थानियबासी मो। रहमत, विक्की भगत र निर्माण व्यवसायी विजय साह विरुद्ध कर्मचारीहरुले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् ।
आफू निकटका उपभोक्ता समिति तथा ठेकेदारहरुका फाइल लेखा शाखामा चाँडै नपठाएको भन्दै निलम्बित मेयर गुप्ता र कार्यवाहक मेयरका सल्लाहकार भगत लगायतको समूहले आफूहरूमाथि कुटपिट गरेको प्रहरीमा बुझाइएको जाहेरी पत्रमा उल्लेख गरिएको छ ।
यसअघि प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत बिहीबार प्रधानमन्त्री कार्यालयमा समेत ज्ञापनपत्र पठाएर उनीहरु माथि कारबाहीको माग गरिएको थियो ।
स्थानिय प्रशासनबाट कारबाहीका लागि खासै पहल नभएपछि विपक्षीहरुमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी जाहेरी दिइएको शम्भुनाथ नगरपालिकाका प्रशासन शाखा प्रमुख प्रधुम्न प्रसाद पोखरेलले जानकारी दिए ।
उनले चालु आर्थिक वर्षको भुक्तानी गर्ने अन्तिम दिन बुधबार पालिकाका कर्मचारीहरूमाथि कुटपिट भएको बताए । उनका अनुसार, गुप्ता र भगतको नेतृत्वको समूहले प्राविधिकहरु सुनिल यादव, विनोद कुमार यादव, मनोज कुमार चौधरी, मो।तमन्ना र चालक हरि भगतलाई कुटपिट गरेका थिए ।
कुटपिटपछि त्रसित बनेका कर्मचारीहरूले आफूहरूको सुरक्षा व्यवस्था नमिलाइए र दोषीमाथि कारबाही नगरिए सम्म नगरपालिकामा काम गर्न नसक्ने बताएका छन् । बिहीबारदेखि पालिकाका कर्मचारीहरूले पेन डाउन समेत गरेका छन् । उनीहरुले आफ्नो माग सम्बोधन नभए थप संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
आफूहरूमाथि कुटपिट भएको भन्दै नगरपालिकाका कर्मचारीहरूले बिहीबार प्रमुख जिल्ला अधिकारी भोला दाहालसमक्ष ज्ञापन पत्र बुझाउँदै सुरक्षाको माग गरेका थिए । दाहालले कर्मचारीहरूले काम गर्ने वातावरण मिलाई दिन आग्रह गरेको पत्र आफूकहाँ पुगेको बताएका छन् । घटना बारे थप बुझ्ने काम भइरहेको उनले जानकारी दिए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।