इटहरीः इटहरी बजेट निर्माण गर्ने प्रकृयामा आफुहरु प्रतिवद्ध रहेको जनाउँदै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलकै गैरजिम्मेवार असम्वेदनशील गतिविधि र क्रियाकलापका कारण इटहरी उपमहानगर बजेट शून्यतामा पुगेको एमाालेबाट निर्वांचित जनप्रतिनिधिहरुले दावी गरेका छन् ।
नेकपा एमालेको इटहरी नगरको पार्टी कार्यालयमा बिहिबार पालिका सभादलको नेताका रुपमा उपमेयर संगीताकुमारी चौधरी सहितको निर्वाचित १५ वडाकाअध्यक्ष,सदस्यहरु र कार्यपालिका सदस्यहरुको सहभागीतामा भएको पत्रकार सम्मेलनमा यस्तो दावी गरिएको हो ।
उपमेयरका तर्फबाट १० असारमै बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेता पनि समयमा छलफल नगराएका कारण नै बजेट पास हुन नसकेको प्रति दुःख व्यक्त गर्दै यसको सम्पूर्ण जिम्मेवार नगर प्रमुखनै रहेको पत्रकार सम्मेलनमा स्पष्ट पारिएको छ ।
नेकपा एमाले पालिका दलको नेता समेत रहेकी उपमेयर चौधरीले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ—‘ विगतका आर्थिक वर्षहरुमा अनुसूची बिनाको विनियोजन विधेयक पेश गरी बजेटलाई नगर प्रमुखले मनोमानी शिर्षकहरुमा खर्च गरी दुरुपयोग गर्ने गरेको र त्यसै कारणले महालेखा परिक्षकको प्रतिवेदनमा समेत बेरुजु हुने गरेको देखिएकोले विगतबाट पाठ सिक्दै उपप्रमुखले विनियोजन विधेयक (अनुसूची सहितको) ल्याउन पटकपटक प्रयत्न र अनुरोध गर्दा पनि शाखा÷महाशाखा, वडा शिक्षा लगायतको अनुसूची हिजो सम्म पनि उपलब्ध नगराएकोले अनुसूची सहितको विनियोजन विधेयक तयार गर्न नसकिएकोले सभामा पेश गर्न असमर्थ रहेको जानकारी गराउन चाहन्छौ ।’
स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार असार १० गते भित्रमा बजेट तथा नीति कार्यक्रम नगर सभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । बजेट तयारी गर्दा पुरा गर्नुपर्ने चरणहरु पुरा नभई हतारमा बजेट निर्माण गर्ने प्रचलन विगत देखि नै चल्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आर्थिक बर्ष २०८२÷०८३ को बजेट निर्माण गर्दा विषयगत समिति शाखा÷महाशाखाहरु लाई सिमा निर्धारण गरी चैत्र १५ गते भित्रमा पठाई सक्नु पर्ने व्यवस्था छ । तर यस पटक पनि उपप्रमुखको संयोजकत्वमा रहेको राजस्व परामर्श समितिले आम्दानी र खर्च सहितको राजस्व प्रक्षेपण गरी श्रोत अनुमान तथा सिमा निर्धारण समितिमा पठाई नगर प्रमुखलाई श्रोत अनुमान तथा सिमा निर्धारण समितिको बैठक र कार्यपालिकाको बैठक समयमा नै बसी आवश्यक निर्णय लिन पटकपटक अनुरोध गर्दा पनि बेवास्ता गरिएको पत्रकार सम्मेलनमा उपमेयर चौधरीले जानकारी गराईन् ।
३० गते को सभामा विनियोजन विधेयक र अर्थ विधेयक पेश गर्नु पर्ने र ३२ गते भित्रमा अनुमोदन गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ । उपप्रमुख सहित सभाका सदस्यहरु सभा स्थल पुगी सभा सुचारु गर्ने तयारी हुदै गर्दा सम्म नगर प्रमुख तथा सभाका सभाअध्यक्ष विना जानकारी अनुपस्थित भई सभा स्थगनको सूचना गरेको प्रति एमालेबाट निर्वाचित जनप्रतिनिधहरु स्तब्ध भएको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा सहभागी पत्रकार महासंघ सुनसरीका सचिव विनय बाह्रकोटीले बहुमत सदस्य रहेका एमालेकै जनप्रतिनिधिहरु सहभागी इटहरी सरकारका प्रमुखले इटहरीका पत्रकार र पत्रकारितालाई आपत्तीजनक आरोप लगाउँदा यतिका दिनसम्म एमाले पार्टीसँगै जनप्रतिनिधि नबोलेको बिषयमा धारणा माग गरेका थिए ।
जवाफमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पत्रकारमाथि लगाएको आरोप भ्रमात्मक मात्र भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । एमालेले व्यवसायिक पत्रकारिता र प्रेस स्वतन्त्रप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको बताइयो । एमालेका जनप्रतिनिधिहरुले नगरसभामा पत्रकारमाथि लगाइएको लान्छनाका बिषयमा गम्भिर तरिकाले कुरा उठाएको पत्रकार सम्मेलनमा सहभागी वडानम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीले बताए । नगरसभा र बजेट पास गर्नुपर्ने चापका कारण सार्वजनिक रुपमा पत्रकारलाई लगाइएको आरोपका बिषयमा वडाध्यक्ष , कार्यपालिका सदस्यहरुले आधिकारीक रुपमा ल्याउन नसकेकोमा क्षममा समेत सुवेदीले मागे । उनले एमालेबाट निर्वाचित जनप्रतिनिधि, कार्यपालिका सदस्यहरु र सिंगो पार्टीको नगरनै पत्रकार महासंघले थालेको आन्दोलन प्रति ऐक्यवद्धता रहेको स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा सहभागी वडानम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापाले मेयर पौडेलले आफ्नो व्यक्तिगत फेसबुक पेंजमा पत्रकारहरुलाई गम्भिर आरोप लगाउनुलाई समग्र इटहरी सरकार , जनप्रतिनिधि, कार्यपालिका सदस्यहरुको धारणा नबुझिदिन आग्रह गरे । उनले मेयरले व्यक्तिगत रुपमा सामाजिक सञ्जालबाट लेखेका बिषयको सम्पूर्ण जिम्मेवारी उनी आफैले लिएर त्यसको चित्तबुझ्दो जवाफ दिनुको विकल्प नरहेको बताए । उनले ३२ असारमा नगरसभा स्थगित भएसँगै एमाले पार्टीका नेताहरुलाई गम्भिर आरोप लगाउँदै नगरवासीमा भ्रम छर्ने गरि सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस ५ घण्टासम्म टिक्न नसकी डिलिट गरेको बताउँदै इटहरीका पत्रकार र पत्रकारिताका बिषयमा लेखेको स्टाटसको तत्काल जवाफ दिनै पर्नेमा जोड दिए । उनले इटहरीलाई कार्यक्षेत्र बनाएर पत्रकारितागर्नेहरुले सत्य र सन्तुलिन पत्रकारिता गरिरहेको बिषय एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु र सिंगो पार्टीले नजिकबाट मूल्यांकन गरिरहेको बताए । उनले स्वतन्त्र, निश्पक्षीय र व्यवसायिक पत्रकारिताप्रति पार्टी समेत सधैव प्रतिवद्ध रहेको बताए ।