मोरङः मोरङको रतुवामाई नगरपालिका वडा नं ९ मा पर्ने स्वर्गीय जननेता मदन भण्डारीको घर (मदनग्राम) पुग्ने सडकको स्तरोन्नतीमा सरकारको ध्यान नगएको भन्दै स्थानीयले गुनासो गरेका छन् । वर्षेनी मेची देखि महाकालीका मान्छे मदन भण्डारीकै घर हेर्न आउने गरेका छन् । तर त्यहि घर पुग्ने बाटोको अवस्था भने सधैं जिर्ण छ । वर्षा याममा हिलो र खाल्डाले सवारी आवागमनमा समस्या त छँदैछ, दैनिक जसो दुर्घटना हुने गरेको स्थानीयले बताए ।
सोही क्षेत्रका नेताहरुलाई देशले मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बनाइसक्दा पनि उक्त बाटोको अवस्थामा सुधार नहुनु दुःखद रहेको स्थानीयहरुको भनाई छ । ‘यहि क्षेत्रलाई आधार बनाएर स्वर्गीय गिरिजाप्रसाद कोइराला दुई पटक प्रधानमन्त्री भए । स्वयं स्वर्गीय भण्डारीकै धर्मपत्नी दुई कार्यकाल देशकै राष्ट्रपति भईन ।
डा. मिनेन्द्र रिजाल मन्त्री भए, अहिले पनि सोहि क्षेत्रका सांसद ऋषिकेश पोखरेल लेखा समिति सभापति छन् । तर यो बाटोको स्तरोन्नतीमा कसैको ध्यान पुग्न सकेन’, स्थानीयले गुनासो गर्दै भने । स्थानीय कृष्ण गुरागाईले संघ र प्रदेश दुइटै तहमा नेकपा एमालेको सरकार रहेका बेला पनि ऐतिहासिक मदनग्राम पुग्ने बाटो नबन्दा कहिले बन्ने रहेछ भनेर सञ्चार माध्यमहरुले सोधिदिनुपर्ने बेला आएको बताए ।
त्यसो त केहि समय अघि मात्र उक्त क्षेत्र पुगेकी पूर्व राष्ट्रपति भण्डारीसामु पनि स्थानीयले उक्त सडकको स्तरोन्नती प्रति चासो राखेका थिए । त्यसबेला पूर्व राष्ट्रपति भण्डारीले आफूले बाटोको अवस्था यस्तै रहेको होला भन्ने कल्पना नगरेको प्रतिकृया दिएको स्थानीयले स्मरण गरे ।
त्यस विषयमा सोही क्षेत्रबाट निर्वाचितसार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले पनि अपेक्षाकृत रुपमा उक्त सडक स्तरोन्नतीको काम हुन नसकेको बताए । उनका अनुसार अघिल्लो पटक प्रदेश सरकारले इटहरा–भौडाहा सडकका लागि केहि बजेट विनियोजन गरेपनि प्रर्याप्त हुन नसकेको बताए । संघीय सरकारका तर्फबाट सोमबारे,मदनग्राम–सातपिढीं– भौडाहा हुँदै माले स्मारक सम्मको करिब ७ किलोमिटर सडक निर्माणको काम अघि बढेको छ । जस्मा उत्तर तर्फबाट करिब दुई किलोमिटर सडकको स्तरोन्नती भएको पोखरेलले बताए ।
सभापति पोखरेलले स्थानीयको चासो र खबरदारी उचित रहेको भन्दै ऐतिहासिक मदनग्राम पुग्ने सडकको यथाशक्य स्तरोन्नती गर्न तीनै तहका सरकारको ध्यान जान आवश्यक रहेको बताए । अर्का स्थानीय इन्द्र लामा पनि नजिकै रहेको रतुवा खोला पारी पटिका सबै ग्रामिण सडक पनि कालोपत्रे हुनु तर पश्चिम तर्फको ऐतिहासिक केन्द्रसम्म पुग्ने बाटो नबन्नु लाजमर्दो भएको बताउँछन् । उनले २०७० सालदेखि नै यो बाटो बनिहाल्ने भनिएपनि राजनितिक जस लिने होडबाजीले उपेक्षामा परेको गुनासो गरे । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।