इटहरी: आफूलाई राष्ट्रिय गीतको रचनाकार व्याकुल माईला भन्दै ठग्दै हिँड्ने नक्कली व्याकुल माईला उर्फ मिलन राई बिहीबार इटहरीबाट पक्राउ परेका छन् ।
व्याकुल माईलाका नाममा प्रकाशित केही पुस्तकको भुक्तानी लिनका लागि बिहीबार इटहरी उपमहानगरपालिका आएका उनलाई प्रहरीले उपमहानगर परिसरबाट पक्राउ गरेको हो ।
उदयपुरको बेल्टार घर भएका उनलाई यसअघि पनि प्रहरीले नक्कली व्याकुल माईला भई ठग्दै हिँडेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरी अबका दिनमा यस खालको गतिविधि नगर्ने सर्तमा रिहा गरेको थियो ।इटहरी उपमहानगरपालिकाले निवेदन दिएपछि इटहरी प्रहरीको नियन्त्रणमा रहेका राईलाई म्याद थपका लागि इनरुवा लगिने इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
राईले राष्ट्रिय गीतका सर्जक प्रदीप कुमार राई व्याकुल माईलाका विरुद्ध आफू चाहिँ सक्कली व्याकुल माईला रहेको र गीतको सृजना पनि आफैले गरेको भन्दै राष्ट्रपति कार्यालयसम्म उजुरी समेत हालेका थिए ।

उनले पछिल्लो समय ७ महिनाअघि पनि सभामुख देवराज अधिकारीलाई समेत सक्कली सर्जक व्याकुल माईला आफू भएको भन्दै निवेदन दिएका थिए । उनले उजुरीमा व्याकुल माईलाका नाममा राज्यले मासिक रूपमा दिँदै आएको सेवा सुविधा आफूलाई दिनु पर्ने माग उल्लेख गर्ने गरेको बुझिएको छ । उनले पहिलो पटक उदयपुरको चौदण्डी नगरपालिकामा उजुरी नै दर्ता गराएका थिए । सो बेला मिलन राईलाई तत्काल पक्राउ गरि कानुनी कारवाही गर्नुको साटो उनले दिएको निवेदन दर्ता गरि प्रदिपकुमार राईलाई दुःख दिने काम गरिएको थियो ।
उनको ठगी कार्यबाट आफू विगत ७/८ वर्षदेखि पीडित भइरहेको प्रदीपकुमार राई व्याकुल माईलाले जानकारी दिए । उनले मिलन राईले आफ्नो महाअपमान गरेको यथेष्ट प्रमाण हुँदा हुँदै यत्तिका वर्षसम्म राज्यका जिम्मेवार निकाय मौन बस्दा अचम्मित भएको प्रतिक्रिया दिए ।
प्रदीपकुमार राई व्याकुल माईलाले भने‘राष्ट्रिय गीत भनेको राष्ट्रको सम्पत्ति हो । यसको संरक्षण गर्ने,यसका सर्जकको संरक्षण गर्ने,सम्मान गर्ने,शिरलाई उँचो राख्ने काम त राज्यले नै गर्नु पर्ने हो । तर के कति कारणबाट मिलन राई ढुक्कका साथ मेरो नाम बेचेर नक्कली व्याकुल माईला भएर देशभर हिँडिरहेका छन् ? मैले बुझ्न सकिरहेको छैन ।’
पक्राउ परेका नक्कली व्याकुल माईलालाई राज्यका जिम्मेवार निकायले पहिला जस्तो गरी छाड्ने भन्दा पनि कानुन अनुसार कारबाही गर्न पर्ने माग प्रदीपले गरेका छन् ।
पछिल्लो समय नक्कली व्याकुल माईला उर्फ मिलन राईले कोसी प्रदेशका धेरै स्थानीय तह र विद्यालयहरूमा आफू व्याकुल माईला भन्दै ठुलो सङ्ख्यामा पुस्तक बिक्री गरेको बुझिएको छ ।