इटहरी: कुशल व्यवसायी ,समाजसेवी इटहरी २ आँपगाछी निवासी ५४ बर्षीय जगनप्रसाद सुवेदीको असामयिक निधन भएको छ ।
सुवेदीको हृदयाघातका कारण हिजो(बुधवार) उपचारका क्रममा विराट मेडिकल कलेज(टिचिङ) अस्पताल विराटनगरमा दुःखद निधन भएको हो ।
इटहरीको सङ्गीत चोकमा इलेकट्रोनिक सामानहरूको होलसेल पसल सिद्धी विनायक सप्लायर्स सञ्चालन गर्दै आएका सुवेदी व्यवसायसँगै लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका थिए ।
सुवेदी माया घर नेपालको आजीवन सदस्य थिए । सुकल्प सुनसरीका जिल्ला सदस्य ,कुस्माखर सुवेदी कुल संरक्षण समिति कोषाध्यक्ष,त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोसी प्रदेश सदस्य र दुर्गा पाञ्चायन मन्दिर धनकुटा सल्लाहकार समेत रहेका थिए ।
सुवेदीका एक छोरा छन् । सामाजिक सेवा भावमा समर्पित सुवेदीको दुःखद निधनले सुवेदी परिवारलाई मात्र नभई इटहरीलाई नै अपूरणीय क्षति पुगेको माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिइन् ।
अत्यन्तै मिजासिला सुवेदी कसैलाई केही पर्यो भने सहयोगका लागि सदैभरि हात फराकिलो बनाउने स्वभावका थिए । उनको पसलमा सहयोगका लागि आउने जो कोहीलाई खाली हात नपठाउने गरेको सङ्गीत चोकका व्यवसायीहरूले बताएका छन् ।
उनको पार्थिक शरीर लाई यस बेला उनको निवासमा राखिएको छ । आज साढे १२ बजे बुढीगंगा जमुना मुक्ति घाटमा दाहसंस्कार गरिने परिवारका सदस्य पत्रकार बाबुराम सुवेदीले जानकारी दिएका छन् ।