सुनसरीः लगातारको वर्षाले सुनसरीमा १ हजार ३ सयभन्दा बढी घर डुबनमा परेका छन् । वर्षातका कारण बाढी, डुबान र पहिरोका कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । 

सुनसरीको धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, रामधुनी र भोक्राहा नरसिंहलगायतका स्थानमा  बाढी र पहिरोले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताएका छन् । उनका अनुसार दर्जनौं ठाउँमा सडक अवरुद्ध भएका छन् । डुबानका कारण सयौं स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ । कोशी लोकमार्गको धरान–भेडेटार सडकखण्ड र धरान–२० विष्णुपादुका–सागुरीगढी सडकखण्डमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । मधुवन प्रहरी चौकीको कार्यालय भवनमा समेत पानी पस्दा क्षति पुगेको  डीएसपी खतिवडाले बताए । 

इनरुवा नगरपालिका–९ मा करिब १२० घर र इनरुवा–१० मा ७० घर बाढीले प्रभावित छन् । जाल्पापुर क्षेत्रमा मात्रै ३०० घर डुबानमा परेका छन् भने करिब ६० घरका बासिन्दा आफन्तकोमा आश्रय लिएर बसेका छन् । इनरुवा नगरपालिका–४ मरिक टोलमा सुनसरी खोलाको बाढी पस्दा २० घर र जानोद्दय आधारभूत विद्यालय डुबानमा परेको छ । इनरुवा नगरपालिका–८ गौरी टोलमा पनि २०  घरमा डुवानमा परेका छन् । 

बराहक्षेत्र नगरपालिका क्षेत्रमा करिब १६० घर डुबानमा परेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले बताए । उनले घर डुवान भएपछि  बराहक्षेत्र–७ पानी टंकी क्षेत्रका चार घरका बासिन्दा छिमेकीकोमा आ श्रय लिएर बसेको बताए ।  बराहक्षेत्र–८ दोभान खोलाले स्थानीय ४५ वर्षीय नवराज उरावलाई बगाएको छ । उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।  बराहक्षेत्र नगरपालिका–४ स्थित ३३ बिघा क्षेत्रमा सर्दु खोलाले हाइटेन्सन टावरतर्फ कटान गरेको छ  । 

भोक्राहा नरसिंह गाउँपालिका–५ मा करिब ३०० घर डुबानमा परेका छन् । उद्धारका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालित भई टपरा, डोरी र ट्युब प्रयोग गरेर डुबानमा परेकाहरूको उद्धार गरिएको डीएसपी खतिवडाले बताए ।  भोक्राहा नरसिंह गाउँपालिका–१ धार्मिक्ता टोलमा सुनसरी खोलाको बाढी पस्दा २० घर जलमग्न भएका छन् । 

भोक्राहाकै कार्डियो न्युरो अस्पतालमा पनि डुबान हुँदा चिकित्सकहरू अस्पताल प्रवेश गर्न सकेका थिएनन्  ।  सशस्त्र प्रहरीले बोटमार्फत चार–पाँच जना चिकित्सकलाई अस्पतालभित्र पुर्‍याएका  थिए ।

रामधुनी नगरपालिका–६ र ७ को पंचायन क्षेत्रमा करिब २० घर डुबानमा परेका छन् । इटहरी–५ का ड्रुम र सुकुम्बासी टोलमा गरी १० घर डुवानमा परेको प्रहरीले जनाएको छ ।  बाढी र पहिरोको जोखिम बढेको स्थानमा  फसेकाहरूलाई प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार  गरी सुरक्षित स्थानमा लगेका थिए । पीडितहरूलाई राहत वितरण नगरिएका कारण उनीहरूको अवस्था नाजुक बनेको छ । पानी घटेपछि मात्रै क्षतिको यकिन विवरण आउन सक्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित भएको छ ।