इटहरीः  इटहरी २ को आयुर्वेदिक टोललाई आध्यात्मिक धार्मिक पर्यटन केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले माया घर नेपालकै समिपमा १०८ शिवलिङ्ग स्थापना गरिएको छ । 

 कोशी प्रदेशको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको सङ्कल्प, केन्द्रीय समितिको अभिभावकीय भूमिका र स्थानीय समुदायको सक्रिय सहभागितामा सो टोलमा असार शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीमद्भागवत् चतुर्मास पारायणको समापन अवसरमा स्थापित १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा तथा आध्यात्मिक धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रम भोलीदेखि कात्तिक २१ गतेसम्म आयोजना हुने छ ।

WhatsApp Image 2025-10-30 at 06.05.49_cb660437

भोली  कलश शोभा यात्रासहित श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्सङ्गको सुरुवात हुने त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोसी प्रदेसकी अध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिइन् ।  उनका अनुसार १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा तथा आध्यात्मिक धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रमको उद्घाटन कोसी प्रदेस सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गर्ने भएका छन् । 

कात्तिक १७ देखि १९ गतेसम्म स्थापित १०८ शिबलिङ्गको विशेष प्राण प्रतिष्ठा अनुष्ठान हुनेछ । सो अवसरमा देश–विदेशका धार्मिक एवं सामाजिक व्यक्तित्वहरूको सहभागिता रहने १०८ शिबलिङ्ग निर्माण समितिका संयोजक बाबुराम सुवेदीले जानकारी दिए  । उनका अनुसार भारतका दिल्ली, सिलगुडी, सिक्किम, विहारलगायत क्षेत्र र नेपालको काठमाडौँ, पोखरा, नवलपरासी, धरान, बराहक्षेत्र लगायतका क्षेत्रबाट समेत प्रतिनिधि आउने भएका छन् ।

WhatsApp Image 2025-10-28 at 21.35.16_6d6499bf

सो स्थानमा भक्तपुरमा बनेको कलात्मक नेपाली इँटाबाट निर्मित आसन र नेपालकै शिलाबाट बनेको शिवलिङ्ग स्थापना गरिएको हो । सो स्थानमा शिवलिङ्गसँगै हनुमानको मूर्तिसमेत स्थापना गरिएको छ । करिब ३६ लाख रुपैयाँको लागतमा जमिनसहित १०८ शिवलिङ्ग निर्माण गरिएको हो, जसमा स्थानीय बासिन्दा, सङ्घ–संस्था, स्थानीय र प्रदेश सरकारको पनि सहभागिता रहने अपेक्षा गरिएको निर्माण समितिकी उपसंयोजक कमला खड्काले जानकारी दिइन् । उनले भोलीबाट कात्तिक २१ गतेसम्म हुने धार्मिक कार्यक्रममा सहभागी हुनेका लागि कोसी प्रदेसबासी लगायत देश विदेशमा रहेका धार्मिक पर्यटकहरुलाई आह्रवान समेत गरेकी छन्  ।

कार्यक्रमका क्रममा धरानको पिण्डेश्वर बाबा धाम, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, विष्णुपादुका, बराहक्षेत्र धामलगायतका धार्मिक स्थलहरूबाट समेत संस्थागत प्रतिनिधित्व हुने चिन्तन केन्द्रका कोसी प्रदेस उपाध्यक्ष हिरा आर्चायले जानकारी दिए  । उनका अनुसार सोही अवसरमा करिब एक घण्टा लामो सामूहिक शंखघोष र जलाभिषेक आराधना समेत आयोजना गरिनेछ ।

WhatsApp Image 2025-10-30 at 06.05.48_806375e9

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका तीन दर्जनभन्दा बढी शाखाबाट प्रतिनिधित्व हुने कार्यक्रमलाई धार्मिक पर्यटनको नयाँ अध्यायको रूपमा हेरिएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोसी प्रदेसकी सचिव प्रतिक्षा प्राप्ती अधिकारीले जानकारी दिइन्  । शिवलिङ्ग स्थापना स्थल नजिकै सडक मानव उद्धार केन्द्र माया घर नेपाल रहेको छ । आयोजकहरूले शिवलिङ्ग दर्शनका लागि आउने भक्तजनले त्यहाँका मानवसेवामा पनि सहकार्य गर्न सक्ने व्यवस्था गरिएको चिन्तन केन्द्र कोसीकी कोषाध्यक्ष अजिता सुवेदीले बताइन् । 

सोही कार्यक्रमको बिषेश आकर्षणका रुपमा  कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा प्रदेश सरकारले सूचीकृत गरेका ८२ पर्यटन गन्तव्य स्थलहरूको व्यापक रुपमा  प्रचार–प्रसार गरिनेछ । कार्यक्रममा सहभागी हुने देश विदेशका धर्मगुरु, धार्मिक व्यक्तित्व र सहभागीहरुलाई समय मिलाएर हरेक दिन कोसी प्रदेसका मुख्य पर्यटकीय गन्तब्यहरुको भ्रमण समेत गराईने चिन्तन केन्द्र कोसीकी अध्यक्ष प्याकुरेलले जानकारी दिइन् ।

WhatsApp Image 2025-10-29 at 06.34.48_5beaf348

 इटहरीको सुकल्प सामुदायिक भवन,  विष्णु पाञ्चायन मन्दिर, धनकुटा–इटहरी सम्पर्क समाज, नेपाल शेर्पा सङ्घलगायतका संस्थाहरूको नजिक रहेको यो स्थललाई ‘नमुना धार्मिक–पर्यटकीय गन्तव्य’का रूपमा विकास गर्ने लक्ष्य लिइएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र इटहरी नगर अध्यक्ष सुशिला सिटौंला आर्चायले जानकारी दिइन् ।