भोजपुरः भोजपुरको रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षण जुटेका छन् । यो स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयबासी श्रमदान अभियानमा जुटेका हुन् ।

वडा कार्यालयको पहलमा ‘गङ्गा खोला संरक्षण श्रमदान’ अभियानमार्फत गङ्गा खोला आसपासमा वृक्षारोपन गर्ने, फूल रोप्ने, बाटो मर्मत गर्ने, झाडी हटाउने, मुहानको सरसफाई गर्नेलगायतको काम भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताए। यो पर्यटकीय क्षेत्रको विकासमा स्थानीय एकजुट भएर लागेको उनको भनाइ छ ।

‘श्रमदानबाट गङ्गा खोलाको संरक्षण गरिरहेका छौँ’अध्यक्ष आर्चायले भने,‘मानिसको आवतजावतलाई सहज बनाउन बाटो मर्मत गर्ने विरुवा रोप्ने, झाडी हटाउने लगायतका काम गरिरहेका छौँ ।’

गंगा खोलाका सवै मुहान कहिले नसुक्ने, वर्षातको समयमा धमिलो नहुने तथा मुहानहरु दक्षिणबाट उत्तर तर्फ बगेकाले यसको छुटै महत्व रहेको वडाध्यक्ष आचर्यले बताए । यो क्षेत्रको विकासको लागि धेरै बजेट आवश्यक पर्ने भएपनि वडाले श्रमदानसँगै केहि बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उनको भनाइ छ ।

गोल्मे–गङ्गा पर्यटन प्रर्वद्धन समितिको संयोजन र वडाको पहलमा श्रमदान अभियान सञ्चालन भईरहेको अध्यक्ष आचार्यले बताए । गत वर्षबाट नै श्रमदानमार्फत यहाँ काम गर्दै आएको उनको भनाइ छ ।

प्रत्येक हप्ताको शनिवारको दिन गङ्गा खोलामा श्रमदान हुँदै आएको छ । गङ्गा खोलाको समग्र विकास, पर्यटन प्रवद्र्धन र संरक्षणको लागि वडाको निर्णय अनुसार संरक्षण श्रमदान भईरहेको छ ।

वडाका स्थानीयबासीहरु एकजुट भएर गङ्गा खोलाको संरक्षण गरिरहेको गोल्मे–गङ्गा पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष राजेन्द्र कुमार राईले जानकारी दिए । ढुङ्गाको कापबाट उम्रिएका तीन वटा पानीको ठूला मुहान रहेको यो स्थानमा दर्शन गरे मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विस्वासले भक्तजनहरु आउने अध्यक्ष राईले बताए ।

देशले नै चिन्नु पर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीय स्थल रहेको भएपनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ । स्थानीयस्तरबाट यहाँको संरक्षणको काम थालिएको उनले जानकारी दिए ।

यहाँको पानीले नुहाएमा छालाको रोग निको हुने तथा कुनै पनि पुण्य कर्ममा चढाउने चलन रहेको उनको भनाइ छ । यहाँ माघे सङ्क्रातीमा भव्य मेला लाग्ने गरेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।