इलामः एउटै आमाबाट २८ सन्तानको जन्म भएको सुन्दा अनौठो लाग्छ अचेल । पछिल्लो पुस्तालाई त झनै बुढापाकाले सुनाउने दन्तेकथा जस्तो तर यो इलाम नगरपालिका–६ मा बस्दै आएका ८३ वर्षीया बच्छीमाया कठेतको जीवनको वास्तविकता हो ।
१५ वर्षको उमेरदेखि कोख रित्तो नभएकी बच्छीमायाले बर्सेनि लगातार २८ सन्तानलाई जन्म दिइन। औसत एक वर्ष १४ दिनमा सुत्केरी भएकी उनले ४७ वर्ष उमेरसम्म सन्तान जन्माइन र ऊ जमानामा दसैँमा दिइने ‘सन्तानले डाँडाकाँडा ढाकून्’ आशीष लागे जस्तो सन्तान देशपरदेशमा फैलिएका छन् । १४ छोरा र १४ छोरीलाई जन्म दिएकी बच्छीमाया केही महिनायता कान्छा छोराको घरमा छन् ।
चिकित्सा विज्ञानमा लगातार ४७ वर्ष उमेरसम्म बच्चा जन्माउन सम्भव छ ? भन्ने प्रश्नमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा जागेश्वर गौतमले जुम्ल्याहा, तिम्ल्याहा सन्तानका रूपमा २८ वटा बच्चा जन्माउन सम्भव हुने बताए। प्राडा। गौतमले अफ्रिकामा एक महिलाले ३८ वटासम्म बच्चा जन्माएर विश्वको रेकर्ड तोडेको जानकारी दिदै २८ वटा बच्चा जन्माउन सम्भव हुने जानकारी गराए ।
अफ्रिकी मुलुक युगान्डामा मरियम नबातान्जी नामकी महिलाले ३८ वटा सम्म बच्चा जन्माएको उल्लेख गर्दै उनले ती महिलाले १३ वर्षको उमेरमै पहिलो बच्चा जन्माएको बताए ।
पाँचथरको रानीटार तमाखे स्थायी निवासी बच्छीमाया र उनका ९३ वर्षीय पति धनप्रसाद वृद्ध हुँदै जाँदा केही वर्षअघि झापातिर झरेका थिए । झापा अधिक गर्मी हुन थालेपछि इलामस्थित कान्छा छोरासँग बस्दै आएका छन् । अहिले पनि उनी राम्रैसँग हिँडडुल गर्दै छन् । बच्छीमाया र धनप्रसाद अहिले पनि हाँसी हाँसी आफ्नो विगत सुनाए ।
बच्छीमाया विगत स्मरण गर्छिन्, “कोही सन्तान घाँस काट्न जाँदा जन्मिए, कोही दाउरा बोकेर आउँदै गर्दा जन्मिए, औषधी उपचारको त कुरै थिएन । कुनै दिन पनि डाक्टरसँग जँचाइएन । खोइ एकै दिन कोख खाली भएन, मेरो जीवन त मान्छेकै हो ।
बर्सेनि सन्तान भए पनि पति धनप्रसादले भने खासै सहयोग नगरेको बच्छीमाया स्मरण गर्छिन् । अहिले सँगै रमाइरहेका यी दम्पती देख्दा र कुरा सुन्दा रमाइलो लागे पनि बच्छीमायाको पीडा भने निकै फरक लाग्छ । वडा सदस्य हुनुभएका धनप्रसाद सधैँ घोडा लिएर गाउँसमाजमा हिँडिरहने, बेलामा घर नफर्कने, छोराछोरीको हेरचाहमा खासै समय नदिने बानी सम्झिँदा अहिले पनि बच्छीमायाका आँखा रसाउँछन् । सबै सन्तानलाई हेरचाह, नुवाइधुवाई, खानपान सेकतापलगायत घरको घाँसदाउरा पनि गर्नुपर्ने बाध्यताले बच्छीमायालाई कहिले पनि आराम दिएन ।
पाँच महिनाकी हुँदै बाबु गुमाएकी बच्छीमायालाई आमाले अर्को केटासँग बिहे गरी उतै लगेर हुर्काएको र उनै सौतेनी बाबुकै घरबाट ११ वर्षको उमेरमा धनप्रसादसँग बिहे भएको बताइन ।
बच्छीमायासँगै माया साटासाट गरिसकेका धनप्रसाद पनि आफ्नो विगत उसरी नै सम्झछन् । उनी भन्छन्, “उहिले गाउँका मुद्दा, झगडा मिलाउनुपथ्र्यो, नहिँडी हुँदैनथ्यो । दुःख त थियो । समाज सेवा पनि गर्नै परेकाले पत्नीलाई भरपुर सहयोग गर्न भने गाह्रो थियो ।’’ ठट्यौली पारामा धन प्रसाद भन्छन्, “धेरै छोराछोरी जन्माउँदा पुरस्कार दिन्छ भन्छन्, खोइ त २८ छोराछोरी जन्माउँदा हामीलाई कसैले केही गरेन । तपाईंहरू आएर सोध्नु मात्र हुन्छ ।”यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।




















