काठमाडौँः  विभिन्न राजमार्ग र सडकमा गुड्ने सवारीसाधनसँग सडक उपभोग दस्तुर (रोड टोल) सङ्कलन पुनः सुरु गरिएको छ । मुलुकमा कोभिड–१९ को महामारी सुरु भएसँगै बन्द गरिएको उक्त दस्तुर करिब छ वर्षपछि पुनः सङ्कलन सुरु गरिएको हो । कोभिड–१९ को महामारी सुरु हुनुअघि सडक बोर्ड नेपालले मुलुकका विभिन्न १५ राजमार्गमा उक्त दस्तुर सङ्कलन गर्दै आएको थियो ।

सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले रुपन्देहीको भैरहवा–भूमही सडकखण्डबाट सडक उपभोग दस्तुर (रोड टोल) पुनः सङ्कलन सुरु गरिएको बताउँदै अब केही दिनमै वीरगन्ज–पथलैया, धरान–विराटनगर र नारायणगढ–मुग्लिङ सडकखण्डमा पनि दस्तुर सङ्कलन गर्ने तयारी गरिएको जानकारी दिए। यसअघि साउन २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले निर्माणाधीन नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङमार्गमा सडक दस्तुर सङ्कलन गर्ने निर्णय गरिसकेको छ । सडक बोर्ड ऐन, २०५८ र सडक उपभोग दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१ बमोजिम दस्तुर सङ्कलन सुरु गरिएको हो । गत जेठ १७ गते बसेको मन्त्रीपरिषद् बैठकले सडक उपभोग दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१ स्वीकृत गर्दै सडक दस्तुर सङ्कलन गर्ने निर्णय गरेको थियो । केसीले सडक दस्तुर सङ्कलनका लागि सडक बोर्ड नेपालले कर्मचारी व्यवस्थापन गरी सवारीचालकले क्युआरमार्फत विद्युतीय वा नगद भुक्तानी गर्न सक्ने बताए। उनका अनुसार क्युआरमार्फत तिरिएको रकम सिधै बोर्डको खातामा र नगद तिरेको रकम बोर्डको डिजिटल प्रणालीमा रहने व्यवस्था गरिएको छ ।

कार्यकारी निर्देशक केसीले अन्य राजमार्ग र सडकमा समेत क्रमशः दस्तुर सङ्कलन सुरु गरिने बताउँदै पूर्वपश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–अत्तरिया, अत्तरिया–गड्डाचौकी खण्ड, अरनिको राजमार्गको धुलिखेल–तातोपानी खण्ड, पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा खण्ड र निर्माणाधीन काठमाडौँ–तराई÷मधेश द्रुतमार्गमा समेत दस्तुर सङ्कलन गर्ने तयारी भइरहेको जानकारी दिए।

केसीका अनुसार नारायणगढ–मुग्लिङ खण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी इक्विपमेन्टलाई ५५ रुपियाँ, कार, जिप, पिकअप भ्यान र ट्याक्टरलाई २५ रुपियाँ दस्तुर तोकिएको छ भने तीनपाङ्ग्रे सवारीसाधन र मोटरसाइकललाई दस्तुर निःशुल्क गरिएको छ । भैरहवा–भूमही सडकखण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी इक्विपमेन्टको ३० रुपियाँ, कार, जिप, पिकअप भ्यान र ट्याक्टरको २० रुपियाँ र तीनपाङ्ग्रे तथा मोटरसाइकललाई १० रुपियाँ दस्तुर निर्धारण गरिएको छ । त्यसै गरी वीरगन्ज–पथलैया खण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी इक्विपमेन्टलाई ५० रुपियाँ, कार, जिप, पिकअप भ्यान र ट्याक्टरलाई बिस रुपियाँ र तीनपाङ्ग्रे तथा मोटरसाइकललाई १० रुपियाँ दस्तुर तोकिएको छ । त्यसै गरी धरान–विराटनगर खण्डमा बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मेसिनरी इक्विपमेन्टलाई ७५ रुपियाँ, कार, जिप, पिकअप भ्यान र ट्याक्टरलाई २५ रुपियाँ र तीनपाङ्ग्रे तथा मोटरसाइकललाई १० रुपियाँ दस्तुर तोकिएको छ ।

कार्यकारी निर्देशक केसीले राजमार्ग र सडकको दुरी तथा सवारीसाधनको आकार र क्षमता अनुसार फरक फरक दस्तुर तोकिएको जानकारी दिँदै सरकारी सवारीको हकमा कुनै दस्तुर नलाग्ने स्पष्ट पारे । 

सडक मर्मतमा दुई तिहाइ खर्च

कार्यकारी निर्देशक केसीले सङ्कलित सडक दस्तुरमध्ये दुई तिहाइ रकम सम्बन्धित सडक मर्मतसम्भारमा खर्च गरिने बताउँदै विगतमा सडक दस्तुर सङ्कलन गर्ने ठेक्का निजी क्षेत्रलाई दिँदै आएकोमा अब सडक बोर्ड आफैँले सङ्कलन गर्ने स्पष्ट पारे । विगतमा ठेक्का लिएका ठेकेदारले सङ्कलन गरेको रकम सरकारलाई नबुझाएको उनको गुनासो छ । 

सडक दस्तुर सङ्कलन गर्न सडक बोर्ड ऐन, २०५८ का आधारमा ‘सडक दस्तुर उठाउने कार्यविधिसम्बन्धी नियमावली, २०६० निर्माण गरिएको थियो । २०६७ असार १४ गते राजपत्रमा सूचना प्रकाशित गरी पहिलो पटक भैरहवा–भूमही खण्ड र वीरगन्ज–पथलैया सडकखण्डमा दस्तुर सङ्कलन सुरु गरिएको थियो ।

त्यसै गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७६ वैशाख २ गते राजपत्रमा सूचना प्रकाशित गरी धुलिखेल–खुर्कोट, खुर्कोट–सिन्धुली–बर्दीबास र पाँचखाल–मेलम्ची सडकखण्डमा दस्तुर सङ्कलन गर्ने निर्णय गरेको थियो । २०७७ भदौ ८ गतेदेखि नारायणगढ–मुग्लिङ सडकखण्डमा थप सो दस्तुर सङ्कलन सुरु गरिएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।