धादिङः पछिल्लो समय युवाहरू विभिन्न बहानामा वैदेशिक रोजगारमा गएसँगै गाउँका वस्ति मात्रै रित्तिएको छैन । ग्रामीण क्षेत्रमा भएका अधिकांश खेती योग्य जमिनहरू समेत बाझिने समस्या कुनै नौलो विषय पनि बनेको छैन । यस्तै बाध्यता र समस्याका विच धादिङको ज्वालामुखी गाउँपालिकाले भने गाउँ घरमा भएको कुनै पनि जमिनहरू खाली नराख्न गाउँमा भएका युवा र किसानहरूलाई आग्रह गरेको छ ।

 स्थानीय पालिकाले नगदे बाली र फलफूलको ब्यवसायीक खेती गरी बाँझो जमिनको सही सदुपयोग गर्ने किसानहरूलाई विशेष सहयोग गर्ने समेत बताउँदै एक वडा एक कृषि उत्पादनको नीति समेत तय गरेको जनाइएको छ । खाली र बाँझै बसेका जमिनहरूमा अमिलो जातको फलफूल खेती गर्नका लागी किसानहरूलाई प्रोत्साहन गर्दे सहयोग समेत सुरु गरेको गाउँपालिकाले जनाइएको छ ।

 पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीमा गएका कारण गाउँवस्तिहरु बिस्तारै खाली हुँदै जाँदा ग्रामीण क्षेत्रहरूमा निकै जमिन बाँझै बस्ने भएकोले समस्या उत्पन्न भए पछि अब जमिन खाली नराख्ने निति नै तय गरेको हो । यसरी खाली बसेका निजी तथा रुख बिरुवा नभएको खाली सरकारी जमिन समेतलाई स्थानीय तहले संरक्षण र उपयोगका नीति निर्माण गरी आयआर्जनका लागी फलफूल खेती गर्ने किसानहरूलाई दिइने व्यवस्था मिलाइने गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताएका छन् ।  । यसले गर्दा जमिन बाँझो नबस्ने र फलफूल खेतीको क्षेत्रफल समेत बढाउँदा स्थानीय किसानहरूलाई निकै फाइदा पुग्ने भनाई छ ।

 यस्ता कार्यक्रमले स्थानीय युवाहरू रोजगारीका लागी अन्य मुलुकमा जान नपर्ने बताउँदै केही हदसम्म भए पनि कृषि कर्म गर्न इच्छुक युवाहरू जमिनको अभावमा बेरोजगार बस्नु नपर्ने दाबी स्थानीय पालिकाको छ । बाग्मती प्रदेश सरकारको एक वडा एक उत्पादन कार्यक्रम अनुसार ज्वालामुखी गाउँपालिकाले भने खरी पिँडालु सुन्तला सख्खरखण्ड लागएतका नगदे बालीको उत्पादन ब्यवसायीक रूपमा सुरु गर्न थालेको छ । यसबाट किसानहरूले आम्दानी समेत लिन सुरु गरेको छ भने उत्पादन अन्य खाद्यान्न बालीको भन्दा निकै फाइदा जनक भएको स्थानीय किसानहरूको भनाई छ ।

 प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा ब्यवसायीक रूपमा सुन्तला,कागती,तरकारी, खेती सुरु गर्ने किसानहरूलाई सरकारले अनुदानको व्यवस्था पनि गरेको छ ।