विराटनगरः औद्यौगिक नगरी विराटनगरमा २०५३ यता कुनै न कुनै उद्योगी व्यापारीका छाता संस्थाले बर्सेनि व्यापार मेला आयोजना गर्दै आएका छन् । फरक फरक रूपमा स्थापना भएका छाता संस्थाले व्यापार मेला, औद्योगिक प्रदर्शनी, ट्रेड एक्स्पो, कृषि प्रदर्शनी जस्ता मेला आयोजना गरे पनि यसका लागि निश्चित स्थानमा प्रदर्शनी स्थल भने छैन ।
दिगो र स्थायी प्रदर्शनी स्थल नहुँदा विराटनगरमा आयोजना हुने व्यापार मेला खाली जग्गा खोज्दै आयोजना गर्नुपर्ने बाध्यता छ । हरेक वर्ष आयोजना हुने व्यापार मेला व्यक्तिका निजी जग्गामा लगाउनुपर्ने बाध्यता रहेको उद्योगी व्यवसायीको गुनासो छ । मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठीले एउटा प्रदर्शनी स्थल नहुँदा बर्सेनि दुःख पाउनु परेको गुनासो गरे । सङ्घले आगामी पुस ९ गतेदेखि १९ गतेसम्म व्यापार मेलाको तयारी गरिरहेको छ । यस पटकको व्यापार मेला विराटनगर–१ स्थित शान्ति चोकको खाली जग्गामा तयारी भइरहेको छ ।
उद्योगी व्यापारीले बर्सौंदेखि उठाएका मागमध्ये प्रदर्शनी स्थल पनि हो । प्रदर्शनी स्थल निर्माणका लागि महानगरपालिकाभित्र जग्गा उपलब्ध हुन कठिन हुँदा माग सम्बोधन गर्ने बाटो नदेखिएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउत आवश्यक भए पनि तीन तहका सरकारले ध्यान नदिएको आरोप लगाउछन् । उनले केही वर्षअघिसम्म सहिद रङ्गशालामा औद्योगिक प्रदर्शनी गर्न सहज भए पनि अहिले त्यहाँ निषेध गरिएपछि असजिलो भएको बताए। आवश्यकता खड्किएपछि त्यसको व्यवस्थापनमा चासो कम भएको राउतको बुझाइ छ ।
खाली जग्गामा बर्सेनि व्यापार मेला आयोजना गर्दा आयोजकको लागत बढ्ने गरेको छ । संरचना तयार पारेर व्यापार मेला आयोजना गर्दा बर्सेनि त्यसको प्रतिफल महसुस गर्न नपाउने अवस्था बनेकाले स्थायी संरचनासहितको प्रदर्शनी स्थलको माग गरिएको अध्यक्ष राठी बताउछन् ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार प्रदर्शनी स्थलका लागि विराटनगर–४ स्थित लक्ष्मीनारायण गुठीको दुई बिघा क्षेत्रफल जग्गा स्थानीय तह विराटनगर महानगरपालिकासँग सय वर्ष लिज सम्झौता भएको बताउछन्। त्यहाँ प्रदर्शनी स्थल निर्माण गर्न भने नदिन राजनीतीकरण गरिएपछि रोकिनु परेको छ ।
उक्त क्षेत्रमा प्रदर्शनी स्थल निर्माणमा सहजीकरण गरिदिने हो भने निजी क्षेत्र सरकारसँग लगानी साझेदारी गर्न पनि तयार रहेको उनको भनाइ छ । प्रदर्शनी स्थलकै लागि सङ्गठनले विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको जग्गा भाडामा लिएको उनले जानकारी दिए।
अध्यक्ष राठीले प्रदर्शनी स्थलका लागि जग्गा सहजीकरण र केही बजेट व्यवस्थापन गर्न तीन तहका सरकारसँग बारम्बार गुहार माग्दासमेत सम्बोधन नभएको गुनासोसमेत गरे।
आगामी पुस ९ गतेदेखि १९ गतेसम्म आयोजना हुने व्यापार मेलाका संयोजक अमित शारडाका अनुसार स्थायी संरचना नहुँदा २५० स्टलका लागि संरचना बनाउनु पर्दा खर्च धेरै हुने देखिएको छ । विभिन्न कारणले सुस्त बनेको अर्थतन्त्र चलायमान बनाउन पनि औद्योगिक प्रदर्शनी आयोजना गर्नुपर्ने भए पनि तयारी व्यवस्थापनमै पाँच करोड रुपियाँ खर्च लाग्ने उनको भनाइ छ । तयारीमा खर्च बढ्दा स्टल बुकिङमा समेत बढी शुल्क लिनुपर्ने भएकाले यसको मार सबैतिर पर्ने उनले जानकारी दिए । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।




















