इटहरीः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहित चार जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।
बुधबार बसेको पार्टीको निर्वाचन क्षेत्र नम्बर ४ स्तरीय बैठकबाट प्रचण्ड सहित चार जनाको नाम केन्द्रिय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको हो ।
प्रचण्ड सहित महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमल बहादुर कट्वालको नाम समेत सिफारिस गरिएको छ । सो क्षेत्रबाट २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट ज्ञानेन्द्र बहादुर कार्कीले विजयी हासिल गरेका थिए ।
बैंठकले सामानुपातिक तर्फ सोही निर्वाचन क्षेत्रबाट योगेन्द्र प्रसाद मण्डल(पप्पु) ,धर्मलाल उराँव, दिल महमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुन सिफारिस गरेको बैंठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य पदम अधिकारीले जानकारी दिए ।
बिहिबारबाट जिल्लाका अन्य ३ वटा निर्वाचन क्षेत्रको बैंठक बसि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारका लागि नेताहरुको नाम निर्णय गरि केन्द्रलाई सिफारिस गरिने अधिकारीले बताए । उनले पार्टीको सिंगो जिल्ला कमिटी आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा होमिएको जानकारी दिए ।




















