काठमाडौंः काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)लाई केन्द्रमा राख्दै वैकल्पिक राजनीतिको रंगोली बनिरहेको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित भई पहिलो र दोस्रो दलका रूपमा स्थापित नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारको प्रभावमा निर्माण भएको भनिएको सत्तालाई चुनौती दिनेगरी उदाएको वैकल्पिक राजनीतिको रङ जेनजी आन्दोलनपछि होली र दिपावलीको रंगोलीजस्तै रंगिएको छ ।

निर्वाचन आयोगले प्रत्यक्ष तथा समानुपातिक निर्वाचनतर्फका कार्यतालिका र कार्यक्रम सार्वजनिक गरेसँगै राजनीतिक दलका गतिविधि तीव्र भएका छन् । जेनजी आन्दोलनपछिको अन्तरिम सरकार र आन्दोलनअघि नेतृत्वमा रहेका राजनीतिक दलबीचको संवादहीनता अन्त्यसँगै देशमा निर्वाचनको माहौल बढेको छ । आगामी २१ फागुनको निर्वाचन मिति नजिकिएसँगै वैकल्पिक राजनीतिका लागि आन्दोलनको ‘ह्विसलब्लोअर’ मानिएका बालेनलाई केन्द्र बनाएर राजनीति अघि बढेको हो ।

मंगलबार, बुधबार र बिहीबार दिनभरका गतिविधिले वैकल्पिक राजनीतिका नाममा आफ्ना अभियानकेन्द्रित गरिरहेका एकठाउँमा उभिनसक्ने आधार खोजी भइरहेको र तिनको नेतृत्व बालेनले गर्ने संकेत देखिएको छ ।

मौन तर निर्णायक

तत्कालीन राजनीतिक दलको गतिविधि र कांग्रेस– एमाले गठबन्धन सरकारसँग चर्को असन्तुष्टि भए पनि बालेन मौन बस्ने र निर्णायक समय ‘मुभ’ गर्ने व्यक्तिका रूपमा चिनिन्छन् । निर्वाचित भएदेखि नै माला नलगाउनेदेखि मिडियामा अन्तर्वार्ता नदिनेसम्मका अडानमा उभिएका बालेनले खास समय सामाजिक सञ्जालमा लेख्ने ‘स्टाटस’का कारण चर्चा र विवादमा आउने गरेका छन् ।

जेनजी आन्दोलनका लागि ऊर्जा थप्नेगरी उनले लेखेका ‘स्टाटस’, अभिव्यक्ति र गणतन्त्र स्थापना संघर्षदेखि निरन्तर नेतृत्वमा रहेका दलका गतिविधिप्रति आक्रोश बढाउन निर्णायक मानिन्छन् । काठमाडौं महानगरका मेयर शाह जेनजी आन्दोलनक्रममा सिंहदरबार जलेसँगै विवादमा परे ।

उनले श्रीमतीलाई अस्पताल लैजान लागेको भनिएको सरकारी गाडी शनिबार कोटेश्वरमा रोकेपछि ‘सिंहदरबार जलाइदिन्छु’ भन्नेदेखि ‘फोहोर सिंहदरबारमा खन्याइदिन्छु’ भन्ने अभिव्यक्ति र जेनजी आन्दोलनताका गतिविधि सुनियोजित नै थिए भन्ने आरोप सामाजिक सञ्जालभर छरपष्ट भयो ।

जेनजी आन्दोलनकै बेलामा पनि आन्दोलनपछिको अवस्था नियन्त्रण र आगामी अन्तरिम सरकारको नेतृत्वका लागिसमेत पटकपटक प्रस्ताव आउँदासमेत मौन बसिरहे । मौन बसिरहेकै बेला शाहले नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई संकेत गरेअनुसार नै सरकार बन्यो भने आन्दोलनकारीलाई ‘सेनासँग वार्ता गर्नु’ भन्ने ‘स्टाटस’कै भरमा नेपाली सुेना र आन्दोलनकारीबीच वार्ता भयो ।

प्रधानमन्त्रीको महत्वाकांक्षा

काठमाडौंका मेयर शाह जेनजी आन्दोलनदेखि अन्तरिम सरकारसम्म निर्णायक भएजस्तै अबको राजनीतिमा आफू निर्णायक बन्ने कदममा खुलेका छन् । पछिल्ला केही दिन उनले खुला रूपमा विभिन्न व्यक्ति तथा दलका नेतासँग भेटघाट गरेका छन् । यो उनको राजनीतिक गतिविधि नै भएको उनी निकटस्थले बताएका छन् ।

‘वैकल्पिक राजनीति’को नाराले चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रशासनिक सफलताका कारण चर्चित भएका नेपाल विद्युत् प्राधिकरणका तत्कालीन एमडी कुलमान घिसिङसँग समानान्तर छलफल गरेका छन् । जेनजी आन्दोलनकी सक्रिय अभियन्ता रक्षा बमदेखि जेनजी नेताको साझा नेतृत्वकर्ता बन्न पनि तयार रहेको सन्देश दिन भ्याएका शाहले रविसँग भने पटकपटक भेटघाट गरेका हुन् । ‘वैकल्पिक राजनीतिका एजेण्डा बोकेकाबीच संवाद र सहकार्य गर्न’ भन्दै रास्वपा सभापति लामिछाने पक्ष र अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङबीच पटकपटक भेटवार्ता भएको रास्वपा नेताले बताएका छन् ।

वैकल्पिक राजनीतिको नेतृत्वका लागि बालेनलाई तयार पार्दै अरु सम्भावित दल र प्रभाव समूहलाई वरिपरि समानान्तर रूपमा नेतृत्व गर्नसक्ने रहस्यमयी नेतृत्वकर्ताका रूपमा शाहलाई उभ्याउने प्रयासले सफलता पाउने सम्भावना रहेको विश्लेषकको दावी छ । शाहले काठमाडौं महानगरपालिकाका जनताको जनादेशअनुसार पूरा कार्यकाल महानगरको मेयर हुनुपर्ने भन्दै आवाज उठाइरहेकाले पनि शाहलाई अबको साझा नेतृत्वकर्ताका रूपमा उभ्याएका हुन् ।

धनगढीका मेयर गोपी हमालदेखि धरानका हर्क साम्पाङसम्म, कलाकारदेखि प्रशासकसम्म, सेलीब्रेटीदेखि कन्टेन्ट क्रियटर र सोसल मिडिया इन्फ् ल्युएन्सरसम्मलाई बालेनले समेट्नसक्ने भन्दै उनलाई नेतृत्वमा सार्न पहलकदमी भइरहेको छ ।

बालेन कित्तामा दलका असन्तुष्ट पनि

जेनजी आन्दोलन हुँदाताका सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले भर्खरै महाधिवेशन सम्पन्न गरेको छ । ‘पार्टीभित्र जेनजी आन्दोलनको भावना सम्बोधन गर्नुपर्छ’ भन्ने समूह महाधिवेशनमा करिबकरिब बढारिएको छ । यसको प्रभावका कारण एमालेभित्रको एउटा समूह पनि बालेनकेन्द्रित भएर ‘साझा वैकल्पिक राजनीतिको बाटो खुले आफू जोडिनसक्ने’ सम्भावना भएको बताइरहेका छन् ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलगायत नेतृत्वसँग खुला असन्तुष्टि पोखिरहेका नेता पनि बालेन नेतृत्वको अभियानमा जोडिन चाहेको उनको सचिवालयको दाबी छ । शाह नेतृत्वमा वैकल्पिक राजनीतिका दल एकठाउँ उभिने अवस्था नभए सामाजिक सञ्जालको तरंग र बालेनको ‘अदृश्य समर्थक’को आडमा लौरो चिह्न लिएको देश विकास पार्टीकै नामबाट निर्वाचनकेन्द्रित अभियान सुरु गर्ने संकेत दिएका छन् ।

प्रशासन, व्यवसाय तथा कुटनीतिक क्षेत्रमा बुधबार सफल काम गरिरहेकासँग ‘वान टु वान’ भेटघाट गर्दै बिहीबार बहुपक्षीय छलफल गरेपछि बालेनको दुवै विकल्प सार्वजनिक भएको हो । सम्भव भए वैकल्पिक अभियन्ताको साझा मोर्चा नभए लौरोको सहारामा राजनीतिक गतिविधि गर्ने बालेनको संकेतसँगै निर्वाचनकेन्द्रित राजनीतिले नयाँ मोड लिएको विश्लेषक बताउँछन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।