काठमाडौँः  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बिच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ ।

रास्वपा सभापति लामिछाने र काठमाडौँ महानगर प्रमुख शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा जाने घोषणासहित आज(आइतबार) सात बुँदे सम्झौता गर्ने सहमति गरेका हुन्।

लामिछाने स्वापाको केन्द्रीय सभापति रहने छन् भने आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि शाहलाई संसदीय दलको नेता भावी प्रधानमन्त्रीको उम्मेद्वाराका रुपमा अघि सारिने सहमति पत्रमा उल्लेख छ । 

एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी नै रहने भएको छ ।

सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै आम नागरिकका आकाङ्क्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेका आन्दोलन, विशेष गरी भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनबाट उठेका आवाजलाई संस्थागत रूपमा अघि बढाउने सहमतिमा उल्लेख गरिएको छ ।

यसैगरी, लामिछाने र शाहबिच बृहत् एकतापछि पार्टीको सङ्गठनात्मक संरचना थप सक्षम र फराकिलो बनाइने, योग्य, समावेशी र सार्वजनिक छवि भएका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिइने सहमति भएको छ ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई अन्य परिवर्तनकामी र सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि सहकार्यका लागि आह्वान गर्ने निर्णय गरिएको छ ।