इटहरीः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले सुनसरीका चार वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
सुनसरी जिल्लाको क्षेत्र नम्बर १ बाट मञ्जु भण्डारी, जयकुमार राई, लहरुमाया जिमी, इन्द्रकुमार राई, टिका माङ्लेन, राजेन्द्र कार्की, सूर्य पन्धाक र नारायण सुवेदीको नाम सिफारिस गरिएको छ । भण्डारी एमालेको ११ औं महाधिवेशनबाट केन्द्रिय सदस्य पदमा विजयी भएकी हुन् । उनी धरानकी पूर्व उपमेयर समेत हुन् । जसकुमार पूर्व सांसद हुन् ।
सुनसरी २ बाट जगदीशप्रसाद कुसियत, लक्ष्मी गौतम र सरोज पोखरेलसहित १८ जनाको सूची तयार पारिएको छ । कुसियत कोशी प्रदेशका पूर्व पर्यटन मन्त्री हुन् । उनी पर्यटन मन्त्री हुँदा अनियमितता संलग्न भएको भन्दै आलोचित भएका थिए । उनी एमालेको हालै सम्पनन ११ औ महाधिवेशनमा केन्द्रिय सदस्य पदमा निर्वाचित नेता हुन् । गौतम इटहरी उपमहानगरपालिकाकी निर्वतमान उपमेयर हुन् । एमालेकी निर्वतमान केन्द्रिय सदस्य रहेकी गौतम ११ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा पराजित नेता हुन् ।
सुनसरी ३ बाट भगवती चौधरी र तयब हुसेनसहित ४ जनाको नाम सिफारिस भएको छ । चौधरी निर्वतमान सांसद हुन् । उनी एमालेको हालै सम्पन्न ११ औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रिय सदस्य पदमा विजयी नेता हुन् । हुसेन ११ महाधिवेशनमा केन्द्रिय सदस्य पदमा पराजित नेता हुन् । सुनसरी ४ बाट पनि जगदीश प्रसाद कुसियतको नाम नै सर्वसम्मत सिफारिस भएको छ ।

















