इटहरीः उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ मा रहेको जागृति महिला सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष सहित ४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले ५ लाखबढी बिगो दावी सहित बिषेश अदालतमा सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष मीना कुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारू र दर्तावाल लेखापरीक्षक तनुकलाल चौधरी विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो । 

सामुदायिक वन उपभोक्ता समितिको कोषको रकम प्रयोग गरी भवन निर्माण लगायतका कार्य गर्दा अनियमितता गरेको आरोपमा आयोगले उनीहरु विरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ । 

WhatsApp Image 2026-01-07 at 05.11.02

 अनुसन्धानका क्रममा सामुदायिक वनको कोष दुरुपयोग भएको पाइएपछि उनीहरू चारै जनाविरुद्ध जनही ५ लाख १५ हजार ३०२ रूपैयाँ बिगो कायम गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 

समितिका पदाधिकारीहरूले भवन निर्माणका क्रममा वास्तविक खर्चभन्दा बढी देखाएको र लेखापरीक्षकले समेत त्यसलाई पुष्टि गर्ने गरी गलत प्रतिवेदन तयार गरेको अख्तियारको दाबी छ। आयोगले उनीहरूमाथि बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको जारी विज्ञप्तीमा भनिएको छ