दमकः झापाको दमक नगरपालिकाले इलामको चुलाचुली गाउँपालिकाको सिमानानजिक अव्यवस्थित रूपमा फाल्दै आएको फोहोर व्यवस्थापन गर्ने सहमति कार्यान्वयन नगर्दा दुर्गन्ध रोकिएको छैन । दमक– २ र चुलाचुली– ५ को सीमावर्ती हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा दमकले वर्षौँदेखि अव्यवस्थित रूपमा फोहोर फाल्दै आएको छ । जसकारण चुलाचुलीका दर्जनभन्दा बढी बस्तीमा दुर्गन्ध फैलिएपछि गत जेठमा चुलाचुलीका जनप्रतिनिधिसहित स्थानीय आन्दोलनमा उत्रिएका थिए । पाँच दिनसम्म फोहोर फाल्न नदिई आन्दोलन गरेपछि दमक नगरपालिकाले चुलाचुलीसँग सहमति गरेको थियो । यद्यपि, सहमति कार्यान्वयन नहुँदा अहिले पनि चुलाचुलीवासीले दमकको फोहोरको दुर्गन्ध सहनुपर्ने बाध्यता छ ।
दमक नगरपालिकाले ‘फोहोरबाट मोहोर’ निकाल्ने भन्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरेर कुहिने फोहोरबाट ग्यास र नकुहिने फोहोरलाई पुनस् प्रयोगमा ल्याउने गरी योजना बनाएर निजी क्षेत्रलाई सुम्पिएको छ । नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्स जेभी नामक निजी क्षेत्रले ग्यास उत्पादनका लागि प्लान्ट पनि बनाएको छ । यो कम्पनी र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबिच १० माघ ०७६ मा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनामा सम्झौता भएको थियो । जसमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पाँच करोड ८८ लाख २७ हजार ९०२ र कम्पनीले १४ करोड ७० लाख ६९ हजार ७५७ रुपैयाँ लगानी गर्ने सहमति भएको थियो । प्लान्ट सञ्चालन नगरी अहिलेसम्म वनमा फोहोर फाल्दा बस्तीसम्म दुर्गन्ध फैलिएको छ । स्थानीयले गत जेठमा आन्दोलन गरेपछि दमक नगरपालिकाले ७ जेठमा चुलाचुलीका जनप्रतिनिधि र स्थानीयबिच सहमति गर्दै फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि दमक र प्रभावित क्षेत्र चुलाचुलीका स्थानीय सम्मिलित नौ सदस्यीय फोहोरमैला व्यवस्थापन समिति बनाउने सहमति गरेको थियो ।
समितिले स्थलगत अवलोकन गर्ने, विज्ञसँग छलफल गर्ने, विकल्प तयार गर्ने, स्थानीयको गुनासो सुन्नेलगायत निर्णय भएको थियो । दमक नगरपालिका– ७ का वडाध्यक्ष भीम पौडेलको संयोजकत्वमा समितिले २१ दिनभित्र काम सक्ने सहमति भएको थियो । यस्तै, फोहोरको दीर्घकालीन व्यवस्थापन नभएसम्म व्यवस्थापन गर्ने, फोहोर छोपेर लैजाने, फोहोर स्रोतमा नै कुहिने र नकुहिने छुट्याएर लैजाने सहमति भएको थियो । यस्तै, फोहोर प्रशोधन क्षेत्रमा छरपस्ट रहेको फोहोरलाई गन्ध नआउने गरी पुर्ने, कीटनाशक औषधि छर्कने सहमति भएको थियो ।
यद्यपि, कुनै सहमति कार्यान्वयन नहुँदा पुनः आन्दोलनको तयारी भइरहेको संघर्ष समितिका संयोजक तथा चुलाचुली– ५ का वडाध्यक्ष बबिन राईले बताए । ‘फोहोरमैला व्यवस्थापन समितिको सदस्य म पनि थिएँ । २१ दिनमा प्रतिवेदन तयार पार्ने भनेको अहिलेसम्म एउटा पनि बैठक बस्न सकेको छैन । मैले संयोजकलाई धेरैपटक सम्पर्क गर्ने कोसिस गरेँ । उहाँले सम्पर्क नै दिनुभएन,’ उनले भने, ‘कुनै पनि सहमति कार्यान्वयन भएन । फोहोरका कारण हाम्रा बस्तीहरूमा अहिले पनि दुर्गन्ध फैलिएको छ । गाउँमा त्यसको दुर्गन्ध पुग्छ । गनाएर खान खानसमेत सक्ने अवस्था छैन । वनमा फोहोर फाल्दा समस्या निम्तिएको छ । पहिला जस्तो अवस्था थियो त्यस्तै छ । हामी पुनस् आन्दोलनमा जानुपर्ने बाध्यता आइपरेको छ ।’
यद्यपि, समितिका संयोजक तथा दमक– ७ का वडाध्यक्ष भीम पौडेलले भने जेन–जी आन्दोलनका कारण काम अघि नबढेको दाबी गरे । तर, यो सहमतिको तीन महिनापछि मात्र जेन–जी आन्दोलन भएको थियो । जबकि समितिले २१ दिनभित्र काम सक्ने सहमति भएको थियो । संयोजक पौडेलले विज्ञसहित अध्ययन भएको, तर प्रतिवेदन आइनसकेको दाबी गरे । तर, समिति सदस्य तथा चुलाचुली– ५ का वडाध्यक्ष राई भने समितिको बैठक नै नबसेको बताउँछन् । दमक नगरपालिका प्रमुख रामकुमार थापाले भने चुलाचुलीसँग भएको सहमति बिर्सिएको बताए । ‘अहिले समस्या भएको छैन । निर्णयअनुसार भएर त होला,’ उनले भने, ‘धेरै समय भयो । मैले त बिर्सिएँ ।’
दमक नगरले दमक नगरपालिका र चुलाचुली गाउँपालिको सिमानामा रहेको दमक– २ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा दैनिक २६ टन फोहोर फ्याँक्दै आएको छ । फोहोरले चुलाचुली– ५ का रमाइलो बस्ती, चपेटी, कोलडाँडा, चन्द्रनगर, शिखरकटेरी, आँपझोला, धिमालटारलगायतका बस्तीमा दुर्गन्ध फैलिएको छ । ‘दमकले सहमति कार्यान्वयन नै गरेन । अहिले पनि यहाँको फोहोरको गन्धले खान खान सक्ने अवस्था रहँदैन,’ रमाइलो बस्तीका जीवन किराँतीले भने, ‘बर्खामा बसिनसक्नु हुन्छ । यो गन्धले बिरामी नै बनाएको छ ।’
दमक नगरपालिकाले वनमा फोहोर फाल्दा बस्तीमा दुर्गन्ध मात्र फैलिएको छैन, पर्यावरणमा समेत असर पुर्याएको छ । दमकले यसरी वनमा फोहोर फाल्नु कानुनविपरीत हो । कोशी प्रदेशको वन ऐनले पनि वन क्षेत्रमा फोहोर फाल्न निषेध गरेको छ । प्रदेश वन ऐनको दफा ६७ मा ‘राष्ट्रिय तथा प्रादेशिक वन क्षेत्रभित्र कसैले पनि प्लास्टिक र प्लास्टिकजन्य फोहोर तथा अन्य कुनै प्रकारका फोहोर फाल्न हुँदैन’ भन्ने उल्लेख छ । यसरी वन क्षेत्रमा फोहोर फाल्दा ५० हजारसम्म जरिवाना हुने ऐनको दफा ६९ मा उल्लेख छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।




















