रुमा रिजाल
सुनसरीः आगामी निर्वाचनलाई लक्षित गर्दै सुनसरी जिल्लामा निर्वाचनको तयारी तीव्र पारिएको छ ।
निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार सुनसरी जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ५ लाख ८० हजार ९ सय ४५ मतदाता कायम भएका छन् । जसमा २ लाख ९४ हजार २सय ५२ पुरुष , २ लाख ८६ हजार ६ सय ९१ महिला र २ जना अन्य मतदाता रहेका छन् । २०७९ को प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनको लागि अन्तिम नामावली प्रकाशित हुँदा ५ लाख ४४ हजार ९ सय ८१ जना कायम भएका मतदाताको सङ्ख्या गत २०८२ असोज १० सम्म ५ लाख ५० सम्म १ सय ५७ जना थिए गत असोज १० देखि मङ्सिर ५ सम्म ५ लाख ८० हजार ९ सय ४५ जना पुगेका छन् त्यसमध्ये नयाँ ३० हजार ७ सय ८८ जना थप मतदाता कायम भएको सुनसरी निर्वाचन अधिकारी कृष्ण पौडेलले बताए।
निर्वाचन सफल, सहज र सुरक्षित बनाउन जिल्लाभर १ सय ६७ मतदान स्थल र ६ सय २४ मतदान केन्द्र तोकिएका छन्। जसमा धरान ११ मा एउटा मतदान केन्द्र नयाँ थपिएको हो । जनसङ्ख्या, भौगोलिक अवस्था र मतदाता चापलाई मध्यनजर गर्दै मतदान स्थल तथा केन्द्रको व्यवस्थापन गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
सुनसरी निर्वाचन क्षेत्र १ मा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाका वडा समेटिएको यस क्षेत्रमा १ लाख ५० हजार ३ सय ९३ जना मतदाता रहेका छन्। यहाँ ४१ मतदान स्थल र १ सय ६१ मतदान केन्द्र कायम गरिएको छ। शहरी र अर्ध–ग्रामीण क्षेत्र मिसिएको यो निर्वाचन क्षेत्रमा मतदाता चाप उच्च रहेको छ। यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, देवाङ्गञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका तथा रामधुनी नगरपालिकाका केही वडा समेटिएको यस क्षेत्रमा १ लाख ९८ हजार ९ सय १० जना मतदाता छन्। यस क्षेत्रमा ४० मतदान स्थल र १ सय ६७ मतदान केन्द्र तोकिएका छन्। इटहरी उपमहानगरपालिकामा मात्रै सबैभन्दा बढी ७५ हजार ४ सय ४१ मतदाता रहेका छन्।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा दुहबी नगरपालिका, गढी गाउँपालिका, बर्जू गाउँपालिका तथा इटहरी उपमहानगरपालिकाका केही वडा समेटिएको यस क्षेत्रमा १ लाख ३४ हजार ३ सय २ जन मतदाता रहेका छन्। निर्वाचन व्यवस्थापनका लागि यहाँ ४४ मतदान स्थल र १ सय ४६ मतदान केन्द्र निर्धारण गरिएको छ। ग्रामीण क्षेत्रको बाहुल्य रहेकाले पहुँच र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ मा कोशी गाउँपालिका, भोक्राहा–नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिका तथा रामधुनी नगरपालिकाका केही वडा समेटिएको यस क्षेत्रमा १ लाख ३७ हजार ३ सय ४० जना मतदाता रहेका छन्।यहाँ ४२ मतदान स्थल र १ सय ५० मतदान केन्द्र कायम गरिएको छ। सीमावर्ती तथा बाढी जोखिमयुक्त क्षेत्रसमेत परेकाले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइएको निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख पौडेलका अनुसार मतदाता नामावली अद्यावधिक र मतदान स्थलको व्यवस्थापन सकिएको छ । निर्वाचन सामग्री व्यवस्थापन , निर्वाचन अधिकृतहरूको नियुक्तिको काम र निर्वाचन अधिकृतको कार्यालय माघ २ गते स्थापना गर्ने गरिको तयारी भइरहेको जनाइएको छ।




















