इटहरीः कहि नभएको जात्रा हाँडीगाउँमा भन्ने उखानलाई मात खुवाउने गरि आगामी २१ फागुनमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन अर्थात हिजो मंगलबार नेकपा एमालेले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को उम्मेदवार छनौटमा अन्तिम समयमा आएर गरेको निर्णयले व्यापक खैलाबैला मच्चाएको छ । अघिल्लो दिन आफुले पाएको टिकट खोसिएर हिस्स परेका कोशी प्रदेश सरकारका निर्वतमान आन्तरिक मामिला तथा कानून मन्त्री इटहरी निवासी रेवतीरमण भण्डारीलाई नै सुनसरी २ बाट उम्मेदवार बनाउने भन्दै खोसिएको टिकट फिर्ता गरियो । उम्मेदवारी दर्ता गर्न ५ माघमै दमक आएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भण्डारीका समर्थहरुले रातभर धर्ना दिएर खोसिएको टिकट फिर्ता गराए । बिहानै उनका सर्मथक र नजिकका पत्रकारहरुले फेसबुकमा स्टाटस लेख्दै पुनः भण्डारीलाई नै पार्टीले उम्मेदवार बनाएको भन्दै खुसी व्यक्त गर्दै प्रचार नै गरे ।
सुनसरी ४ बाट २ मा ल्याएर उम्मेदवार बनाइएका जगदिश कुसियतलाई पुनः ४ मै फर्काएर भण्डारीलाई टिकट दिइएको थियो । नेपाली कांग्रेसबाट प्रवेश गरेका डा. अबुल हुसेनलाई पार्टी अध्यक्ष ओलीले ४ माघमा आफ्नै निवास गुन्डुमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा निर्वाचन लड्न टिकटनै दिलाएका थिए । उनलाई टिकट दिन भण्डारीलाई दिइएको टिकट खोसेर कुसियतलाई सुनसरी २ मा सारेका थिए । डा. हुसेनले पनि आफुले पाएको टिकट सामाजिक सञ्जाल फेसबुकमा हाल्दै आफ्नो क्षेत्रका सर्मथक र कार्यकर्ताहरुलाई आह्रवान गर्दै उम्मेदवारी दर्ताका लागि काठमाडौंबा ट आफ्नो कार्यक्षेत्र आउँदै गरेकाले विराटनगर एयरर्पोटसम्म आउन आह्वान नै गरेका थिए ।

डा. हुसेनले टिकट पाएपछि सुनसरी ४ का जनताहरुमा एकखालको उत्साह समेत छाएको थियो । तर, डा. हुसेनमा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीलाई पराजित गर्ने हुटहुटि नि बढिसकेको थियो । तर, उनको हुटहुटी र उनका सर्मथकमा छाएको उत्साह २४ घण्टा नबित्दै ध्वस्त नै भयो ।
सुनसरी २ मा टिकट वितरणमा पार्टी भित्र ठुलो कलह सृजना भई विद्रोहको स्थिती सृजना भएपछि कुसियतलाई आफ्नै क्षेत्र निर्वाचन क्षेत्र नम्बर ४ मै लग्ने निर्णय पार्टीले गर्यो । त्यसका लागि ओली निवास गुन्डु नै पुगेर नेपाली कांग्रेस परित्याग गरि टिकट ल्याएका डा. हुसेनको टिकट खोस्ने काम गरियो । पार्टी अध्यक्ष ओलीले भण्डारीलाई टिकट दिलाएको खबर माघ ६ गते अर्थात मंगलबार बिहान नै आयो । भण्डारी लगायत उनका सर्मथकहरु बिचमा फेरी उत्साह छायो । त्यसपछि भण्डारी सहित उनका सर्मथक र पार्टीका जिम्मेवार पदाधिकारीहरु मनोनयन दर्ताका लागि आवश्यक पर्नै कागजात र पार्टीको झण्डा सहित तयारी अवस्थामा रहे । भण्डारीले त नागरिकता खोजी गरि कोटको खल्तीमै राखिसकेका थिए ।

तर, जब उम्मेदवारी दर्ताका लागि इनरुवा स्थित जिल्ला निर्वाचन कार्यालय जाने समय आयो र हिँड्नका लागि तरखर मात्र के गरेका थिए , फेरी उनलाई दिइएको टिकट अन्तिम समयमा खोसिएको खबर आयो । उम्मेदवारी दर्ताका लागि इटहरीबाट हिँड्न लागेको अन्तिम अवस्थामा टिकट खोसेर भण्डारीलाई पार्टीले पेन्डुलम नै बनाएपछि उनी मात्र नभई उनका नजिकका नेता कार्यकर्ताहरु नराम्रो गरि रिसाएका थिए । उनलाई दिइएको टिकट अन्तिम समयमा खोसेर पार्टीले युवासँघ कोशीका संयोजक इटहरी ४ निवासी सुजन लामालाई प्रदान गर्यो । अन्तिम समयमा लामाले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराए । प्रदेश सांसद समेत रहेका भण्डारीलाई राजीनामा गराई गराई पार्टीले सुनसरी २ मा पार्टीले टिकट दिएकोमा २ नम्बर क्षेत्रको पनि इटहरी उपमहानगरपालिका भित्रका एमालेका युवा नेताहरुमा चरम असन्तुष्टि पैदा भएको थियो ।

स्थानीय तहबाट सिफारिस गरिएकाहरुलाई टिकट नदिई विधि र प्रकृया मिचेर पार्टीले भण्डारीलाई टिकट दिएर पार्टी नै सिध्याउने खेल खेलको भन्दै उनिहरु असन्तुष्टि भएका थिए । जेनजी आन्दोलनपछिको युवाहरुको जनभावनालाई नबुझि पार्टीले पटक पटक निर्वाचनमा सहभागी भई लाभको पदमा रमाईसकेका भण्डारीलाई दिइएको टिकटका बिषय पुर्नःविचार नगरे पार्टीलाई ठूलो नोक्सान हुने युवाहरुले सामाजिक सञ्जालमा नै स्टाटस लेख्दै आक्रोश पोखेका थिए । युवाहरुको आक्रोश, भण्डारीलाई कुनै पनि हालतमा रोक्न लागको पार्टी भित्रकै एउटा ठूलो जमात र सुजन लामाको महेश बस्नेतसँगको निकट लगायत फ्याक्टरले अन्तिम समयमा लामाले सुनसरी २ मा एमालेको तर्फबाट लामाले टिकट ल्याउन सफल भएको बुझिएको छ ।
उनीसँगै सुनसरी २ बाट बौद्धिक युवा नेता डेगराज फुयँल, युवा नेतृ रञ्जु सिंग्देल,नन्द बस्नेत,जगदशि कुसियत, लक्ष्मी भण्डारी तैयब हुसेन लगायतको नाम केन्द्रका सिफारिस गरिएको थियो ।
टिकट पाएका लामा एमाले महाधिवेशन अघि महाधिवेशन प्रतिनिधि छनौटमा पार्टी भित्रै पराजित भएका थिए । उनी त्यसअघि इटहरी उपमहानगरपालिकाको अध्यक्ष पदको निर्वाचनमा पनि रुपेश बस्नेतसँग पराजित भएका थिए । पार्टी सचिव महेश बस्नेतसँग नजिक रहेका उनी पछिल्लो समय युवा संघ कोशीको अध्यक्ष भएका थिए । उनी इटहरी ४ का वडाध्यक्ष भक्त लामाको जेठा छोरा हुन् । एमालेको तर्फबाट सुनसरी २ बाट लामासँगै निर्वाचन क्षेत्र नम्बर १ बाट टिका लिम्बु, ३ बाट भगवती चौधरी र ४ नम्बरबाट जगदिश कुसियतले उम्मेदवारी दर्ता गराएका छन् ।



















