इटहरीः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को तर्फबाट २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका लालबिक्रम थापा विरुद्ध  निर्वाचन अधिकृतको कार्यालय इनरुवा सुनसरीमा बुधबार उजुरी दर्ता भएको छ । 

थापा विरुद्ध उजुरी परेको २ नम्बर क्षेत्रको निर्वाचन कार्यालयले पुष्टि गरि भरपाई समेत गरि आवश्यक छानविन थालेको छ । 

स्वतन्त्र उम्मेदवार सत्यनारायण पण्डितले बुधबार दिउँसो २ः३० बजे थापा विरुद्ध निर्वाचन आयोगको कार्यालय सुनसरीमा उजुरी दर्ता गराएका हुन् । 

पण्डितले दर्ता गराएको उजुरीमा इटहरी ९ मा रहेको जनता माध्यामिक विद्यालयको जग्गा भाडामा लिई ७४ लाख १ सय ५० रुपियाँ हालसम्म नतिरी बक्यौता राखेको उल्लेख गरिएको छ । तत्कालिन अवस्थामा थापा समेत संचालक रहेको  सनमुन प्लाजा नामक कर्ममार्फत विद्यालयको जग्गा भाडामा लिइएको थियो । २०७६ श्रावण १ गतेदेखि लागु हुने गरि थापा सहितको कम्पनीले जग्गा भाडामा लिएको थियो ।

WhatsApp Image 2026-01-21 at 17.37.17

विद्यालयलाई सम्झौता अनुसारको भाडा नतिरेको सम्बन्धीत विद्यालयको आर्थिक बर्ष २०८१÷०८२ को लेखापरिक्षण प्रतिवेदनमा प्रस्तुत भई उठाउन बक्यौता रकम ७४  लाख एक सय पचास रुपियाँ असुल उपर गर्नुपर्ने भनि उल्लेख गरिएको थियो । तर तत्कालिन अवस्थामा थापा समेत संचालक रहेको सनमुन प्लाजाले हाल सम्म पनि उक्त बक्यौता रकम राफसाफ नगरेको पण्डितले हालेको उजुरी पत्रमा उल्लेख गरिएको छ । 

थापा विरुद्धको उजुरीपत्रमा विद्यालय अभिभावकको तर्फबाट सनमुन प्लाजालाई प्रतिवादी बनाई अख्तियारमा समेत मुद्दा दर्ता गरिएको उल्लेख गरिएको छ । अख्तियारमा परेको उजुरीको दर्ता नंं. सि. ००२१५५ हो । अख्तियारमा  मुद्दा विचाराधिन अवस्थामा रहेको र विद्यालय प्रशासनले निज संलग्न संस्था सनमुन प्लाजा समेतलाई प्रतिवादी बनाएर सुनसरी जिल्ला अदालतमा गत पौष २४ गते असुलीका निमित्त मुद्दा दर्ता गरिएको उजुरीपत्रमा उल्लेख गरिएको छ ।  थापाले विद्यालयको बक्यौता फरर्यौट नगरी विद्यालयलाई समेत जानकारी नगराई वाणिज्य विभागको कार्यालय इटहरीमा दर्ता रहेको उक्त सनमुन प्लाजा नामक संस्थालाई आफ्नो नजिकको नाता पर्ने सालीको नाममा नामसारी गरेतापनि आन्तरिक राजश्व कार्यालयमा उक्त संस्था निज थापाकै नाममा दर्ता कायम रहेको पण्डितले दर्ता गरेको उजुरी पत्रमा उल्लेख गरिएको छ । 

WhatsApp Image 2026-01-21 at 17.37.16 2

 निर्वाचन आचार संहिता २०८२ को परिच्छेद १० (विविध) ४२ नं. बुँदामा रहेको वेरुजु मिलान गर्नुपर्ने शिर्षक अन्तर्गत उमेदवारले लेखापरिक्षणबाट आफ्नो नाममा किटानी साथ असुल उपर गर्ने भनी कायम भएको बेरुजु राफसाफ हुनुपर्ने छ भनेर उल्लेख गरिएकोमा थापाले सो बुँदा अनुसारको प्रमाणीत वेरुजु मिलान हालसम्म नगरेकोले थापाको उमेदरवारी खारेज गर्न उजुरीपत्र मार्फत पण्डितले माग गरेका छन् । 

उम्मेदवार थापाले भने आफुले सबै दायित्व सहित कम्पनीको शेयर अरुलाई बिक्री गरिसकेकाले जनता माध्यामिक विद्यालयलाई भाडा नदिएको बिषयमा आफु जिम्मेवार नभएको दावी गर्दै आएका छन् । भाडा नदिएको बिषयमा आफ्नो कुनै खालको संलग्नता नै नरहेको उनले पटक पटक दावी गर्दै आएका छन् । 

भाडाका लागि जनता माध्यामिक विद्यालय इटहरीले सनमुन प्लाजा इटहरी र तत्कालिन अवस्थाका संचालक थापालाई पटक पटक ताकेता गर्दा पनि नआएपछि पौष २४ गते जिल्ला अदालत सुनसरीमा भाडा असुल गराई भवन खाली गराई पाउ भन्दै मुद्दा दर्ता गराएको थियो । त्यसको भोली पल्टै भाडा लिएको कम्पनीले विद्यालयले सम्झौता बमोजिमको जग्गा भाडावापत विद्यालयले नदिएको उल्लेख गर्दै विद्यालय विरुद्ध अर्को मुद्दा दर्ता गराएको थियो ।