प्रेम बास्तोला
सुन्दरहरैंचाः राजनितिक पहुँचका आधारमा स्थानीय तहमा रहेको न्यायिक समितिले निर्णय गर्दा नागरिकहरुले अनावश्यक मुद्दामामिला झल्न बाध्य हुनपर्छ भन्ने गतिलो उदाहरण बनेको छ ,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ को कुलो/पैनी प्रकरण ।
फिल्ड र नक्सामा समेत नभएको कुलो/पैनीको बिषय उठाएर सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ निवासी दुर्गा महतका छिमेकी कृष्णदेव अधिकारीले राजनितिक पहुँचको आधारमा न्यायिक समितिमा उजुरी हालेको आधारमा सहि तरिकाले छानविन नै नगरि फैसला गर्दा महत परिवार तनावमा छन् ।
न्यायिक समितिको फैसलालाई नै जिल्ला अदालत मोरङले पनि सदर गरिदिएपछि महत परिवार थप तनावमा परेको छ । जिल्ला अदालतको मोरङको फैसला विरुद्ध महत परिवार उच्च अदालत विराटनगर गएका छन् । हाल मुद्दा उच्चमा विचारधिन अवस्थामा छ ।
सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ११ को कार्यालयले गोप्य कोठामा बसेर आफु अनुकुलका व्यक्तिहरुलाई पालैपालो बोलाएर सहि छाप गराई बनाइएको जग्गाको स्थलगत फिल्ड मुचुल्कालाई आधार मानेर उपमेयर अकली चौधरीको संयोजकत्वमा रहेको न्यायिक समितिले निर्णय गरिदिदा महत परिवार अहिले मुद्दाको किचलोमा फसेको छ ।
न्यायिक समितिले २०८१ श्रावण ४ गते महतले खरिद गरेको जग्गामा परापुर्वक कालदेखि चलनचल्तीमा कुलो÷पैनी रहेको फैसला गरेको थियो । त्यसको ठिक एक बर्षपछि नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार न्यौपानले २०८२ श्रावण ८ गते महतलाई कुलो÷पैनी खुलाउन ७ दिने म्याद पत्र थमाएका थिए ।
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ को ७ (क) को ८३८ कित्ता नम्बरको जग्गामा कुलो÷पैनी रहेको दावी गरि महतलाई ७ दिनको म्याद दिएको स्थानमा सोही नगरपालिकाको सिफारिसमा महतले २० फुटको बाटो निर्माण गरेका छन् । जुन बाटो हाल सरकारी बाटोका रुपमा नापी कार्यालयमा स्थापित भईसकेको छ । महतले वैदेशिक रोजगारमा पसिना बगाएर खरिद गरेको जग्गामा सार्वजनिक हितकै लागि विज्ञ अमिन, वडाका पुराना भद्रभलाद्मीहरुलाई सहभागी गराई पुरानो नक्सा र फिल्डको अवस्था हेराई २० फुटको बाटो निर्माण गरेका थिए । सो बाटोमा उनले ग्रावेल गरि बिजुलीको पोल समेत लगाईसकेका छन् ।

सुन्दरहरैंचा नगरपालिकाको राजस्व शाखाले २०८२ श्रावण १२ गते महतको सो कित्ताको जग्गालाई आवास तथा व्यवसायिक क्षेत्र कायम गरि सोही अनुसार कर समेत लिएको पाइएको छ । त्यती मात्रै होइन, वडा नम्बर ११ का अध्यक्ष विशनलाल चौधरीले सो स्थानका केही टुक्रा जग्गा बिक्रीका लागि महतलाई पटक पटक सिफारिस समेत दिएका छन् । वडाध्यक्ष चौधरीले दिएको सिफारिसकै आधारमा महतले केही टुक्रा जग्गा बिक्री गरि खरिद कर्ताको नाममा पास समेत गरिदिएका छन् ।
तर, सोही जग्गामा महतका छिमेकीले फिल्ड र नक्सामै नभएको कुलो/पैनी दावी गर्दै निवेदन दिएका भरमा फिल्डमा आएर वास्तविक कुरा नै नबुझी गोप्य कोठामा बसेर फिल्ड मुचुल्लाका बनाई छिमेकीलाई ८ फुटको कुलो/पैनी बनाउन सिफारिस नै दिएपछि वडाध्यक्ष चौधरीको भूमिका शंकास्पद रहेको स्थानीयहरुको भनाई छ ।
महतका छिमेकी सुशिला घिमिरेले महतको कित्तामा कुलो/पैनी भएको आफुलाई जानकारी नभएको बताईन् । उनले वडाले फिल्डको मुचुल्का बनाउँदा महतका छिमेकी कसैलाई जानकारी समेत नदिएको दावी गरिन् । महतका छिमेकी अधिकारीले आफ्ना पार्टी अनुकुलका मानिसहरुको नाम दिएका भरमा उनीहरुलाई नै बोलाएर वडाध्यक्षले फिल्ड मुचुल्का बनाउनु न्यायसंगत कार्य नभएको घिमिरेले बताइन् । सामान्य तरिकाले हेर्दा पनि महत परिवारलाई राजनितिक पहुँचकै आधारमा वडाध्यक्ष, न्यायिक समिति र कर्मचारीहरुको मिलेमतोमा दुःख दिएर अन्याय नै गरेको ठहर्ने घिमिरेको भनाई छ ।
एक पटक सर्जमिन मुचुल्का निर्माण गर्नका फिल्डमा खट्दा छिमेकी कृष्णदेव अधिकारीले केही अपराधिक मनसायका व्यक्तिहरुलाई प्रयोग गरि महतलाई आक्रमण गरेका थिए । उनी सो बेला गम्भिर घाइते भई लामो समय अस्पताल समेत भर्ना भएका थिए । सो मुद्दा पनि हाल जिल्ला अदालत मोरङमा विचाराधिन अवस्थामा रहेको महतका जेठान प्रेम खड्काले जानकारी दिए ।
स्थानीय अवकाश प्राप्त सरकारी कर्मचारी गोबिन्द कार्कीका अनुसार राजनितिक पहुँच र लोभलालचमा परेर वडाध्यक्ष चौधरीले गम्भिर त्रुटी गरेको दावी गरे । उनले महतले खरिद गरेको जग्गाका जमानाबाट कुलो÷पैनी नै नभएको बताएका छन् । उनले फिल्डमा नै नआएर वडाध्यक्ष र प्राविधिकहरुले जग्गाको फिल्ड मुचुल्का बनाउनुले उनीहरुको नियम स्पष्ट भएको बताए । त्यसको आधारमा न्यायिक समितिले फैसला गर्नु जनप्रतिनिधिहरुको भूमिका कस्तो हुन्छ भन्ने स्पष्ट भएको बताए । उनल भने —‘स्थानीय सरकारका रुपमा रहेको सुन्दरहरैंचा नगरपालिकाले एकै स्थानमा २० फुटको बाटो निर्माणका लागि सिफारिस र त्यही स्थानमा फेरी कुलो÷पैनी निर्माणका लागि सिफारिस दिन मिल्छ ? अनि राजस्व असुल्ने बेलामा आवास क्षेत्रका रुपमा कायम गरि जग्गाधनीसँग मर्ने गरि कर लिन मिल्छ ? यदि सो कित्तामा कुलो/पैनी थियो भने नगरपालिकाले पहिला नै किन हेरेन त ? यसको जवाफ जनप्रतिनिधि र प्राविधिक कर्मचारीहरुले दिन सक्छन् ?’

सुन्दरहरैंचा नगरपालिकाको न्यायिक समितिले अन्यायपूर्ण फैसला गरेपछि न्यायका लागि महत परिवार जिल्ला अदालत मोरङको शरणमा पुगेका छन् । जनप्रतिनिधिहरुले राजनितिबाट अलग भई कार्यसम्पादन र न्यायनिसाब नगरिदिदा अनावश्यक दुःख परिवारले पाएको महत बताउँछन् ।
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष विशनलाल चौधरीले महतको जग्गाको फिल्ड मुचुल्लका फिल्डमा नभई कोठामा बसेर बनाएको स्वीकार गरेका छन् । उनले महतको कित्तामा फिल्ड र नक्सामा समेत कुलो /पैनी नभएको बताए । तर चलनचल्तीमा रहेको आधारमा कुलो /पैनी कायम गर्नका लागि आफुले महतका छिमेकीलाई सिफारिस दिएको बताए । उनले आफुले नै महतलाई २० फुटको बाटो निर्माण गरि सरकारी कायम गर्न सिफारिस दिएको बताए । केही टुक्रा जग्गा बिक्रीका लागि पनि सिफारिस दिएको स्वीकार गरे ।
कुलो/पैनी कायम गर्ने बिषयमा महत र छिमेकी बिचमा लफडा भएकाले सुरक्षाका कारण फिल्डमै गएर मुचुल्का बनाउन नसकेको बताए । उनले कोठामा बसेर स्थानीयलाई नै एक/एक जनाका दरले बोलाएर सहि गराएको स्वीकार गरे । असुरक्षा देखाएर त्यसरी गोप्य कोठामा मुचुल्का बनाउन मिल्छ त ? सुरक्षाका लागि नगरप्रहरी थिए, नेपाली प्रहरी थिए , किन सुरक्षा माग्नु भएन त ? तपाईको नियत राम्रो देखिएन नि । सबै सेटिङमै काम गर्नु भएछ नि ? लगायतका प्रश्न गर्दा वडाध्यक्ष चौधरीले त्यस्तो होइन मात्र भने । उनले अनावश्यक कुरा झिक्नुभन्दा सरकारी बाटोका रुपमा कायम भएको २० फुटको साइटबाट सानो बनाउँदा भैगयो नि भन्ने तर्क गरे ।
उनले महतको जग्गामा कुलो÷पैनीको किचलो उच्च अदालतमा दर्ता भई विचाराधिन भएकाले फैसला नआएसम्म आफुले पनि केही गर्न नसक्ने बताए ।
न्यायिक समिति सदस्य कैलाश बस्नेतले महतको जग्गामा भएको किचलोमा वडा कार्यालयको कमजोरी नै दखिएको बताए । उनले वडाकै कमजोरीका कारण महतमाथि सांघातिक आक्रमण गर्ने कार्य समेत भएको जिकिर गरे । उनले पहिलादेखि नै आफु न्यायिक सदस्य भएका नाताले सहि तरिकाले न्यायनिसाव गरि विवाद मिलाउन लागि परेको दावी गरे । तर, महतका छिमेकीले नमानेपछि न्यायिक समिति निर्णय गर्न बाध्य भएको बताए । उनले पछिल्लो समय विवादलाई नयाँ तरिकाबाट टुङ्गो लगाउनका लागि प्रमुख प्रशासकिय अधिकृत गणेश कार्कीले समेत चासो राखेकाले मुद्दा अदालतमा विचाराधिन अवस्थामै रहेपछि केही अगाडि फिल्डमै पुगेर पहल गर्नका लागि आवश्यक पहल थालेको बस्नेतले जानकारी दिए ।
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीले वडा कार्यालयले घरबाटो सिफारिस दिदा कमजोरी नै गरेको बताए । न्यायिक समितिले पनि दुवै पक्षलाई जितको महसुस हुने गरि फैसला नगरेको आफुले पाएको उनले बताए । उनले महतको जग्गामा फिल्ड र नक्सामा कुलो÷पैनी नदेखिएपनि गुगल म्यापमा भने देखिएको दावी गरे । महत र अधिकारी परिवार बीच सिँचाईका लागि कुलो/पैनी बनाउने नभई बाटोका लागि इगो रहेकाले समस्या आएको आफुले बुझेको कार्कीले बताए ।
उनले जिल्ला अदालतको फैसला कार्यन्वनका लागि आदेश आएपछि आफुले यो मुद्दालाई गम्भिर रुपमा हेरिरहेको बताए । उनले आफु नगरपालिका आएदेखि नै महत र अधिकारीसँग पटक पटक छलफल गरिसकेको बताए । नगरपालिका यो प्रकरणलाई किनारा लगाउन लागि परेको उनले जानकारी दिए ।
न्यायिक समितिको फैसलाको बिषयमा थप जानकारी लिन सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक अकली चौधरीलाई उनको मोबाईल नम्बरमा पटक पटक गर्दा उनले फोन उठाईनन् ।



















