इटहरी । सुनसरी ३ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार दुर्गेश चौधरीले आफ्नो चुनावी अभियान तीव्र बनाउँदै लगेका छन्। मनोनयन दर्ता गरेसँगै चौधरीले आफ्नो चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन्।

यसअघिका निर्वाचनहरूमा काँग्रेस र एमालेको निरन्तर विजयी भएको ठाउँ हो सुनसरी ३। यही क्षेत्रबाट काँग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरीले पटक-पटक जितेर मन्त्री बनेका थिए। तथापि, सरकारमा रहँदा समेत सुनसरी ३ मा उल्लेखनीय विकास र परिवर्तन नभएको भन्दै नेकपाका चौधरीले यस पटक आफूलाई विजयी गराउन मतदाताहरूसँग छलफल र अन्तरक्रिया गरिरहेका छन्।

इनरुवा ७ चादबेला निवासी चौधरी नेकपाका पुराना कार्यकर्ता हुन्। सुनसरी ३ मा युवाहरूमाझ चौधरी परिचित छन्।

सरकारको मन्त्री भइसकेका व्यक्तिहरू फेरि उम्मेदवार भएर झुटो आश्वासन बाँड्ने धन्दा यो पटक नचल्ने चौधरीले बताउँछन्। "विजय गच्छदार १८ पटक मन्त्री भइसकेका नेता हुन्। उहाँको वडामा मात्र गएर घुम्नुहोस्, कस्तो छ अवस्था थाहा पाउनुहुनेछ," चौधरी भन्छन्। भगवती चौधरीले कार्यकर्ता पोस्ने मात्रै काम गरेको उनको भनाइ छ। "सडक र विपन्नलाई बनाइदिएको घर महिना दिनमै भत्किन थालेको छ। देखावटी काम बाहेक गुणस्तरीय काम भगवतीले केही गरेकी छैनन्।"

"अब जनतालाई झुक्याउने दिन गए। अब सुनसरी ३ का मतदाताहरू परिवर्तन चाहन्छन्, यसैका लागि मेरो उम्मेदवारी हो," चौधरीले भने। "म किसानको गरिब परिवारमा हुर्केको युवा हुँ, दुख बुझेको छु। किसानको पीडा बुझेको छु र सुनसरी ३ को भूगोल पनि राम्रोसँग बुझेको छु।" चौधरीका अनुसार घरदैलो कार्यक्रममा जाँदा अधिकांश मतदाताहरू परिवर्तनको पक्षमा देखिएका छन्।

यस क्षेत्रमा नेकपाले पहिलो पटक बलियो उम्मेदवार उतारेको छ। परम्परागत राजनीतिक दलहरूको एकाधिकार तोड्दै नयाँ विकल्पको रूपमा आफूलाई प्रस्तुत गर्दै चौधरीले मतदाताहरूमाझ सकारात्मक प्रतिक्रिया पाएको दाबी गरेका छन्। चौधरीले आफ्नो चुनावी एजेन्डामा गुणस्तरीय सडक निर्माण, किसानहरूका लागि सिँचाइ सुविधा विस्तार, युवा रोजगारी र शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको बताएका छन्। साथै, स्थानीय तहमा जनप्रतिनिधिहरूको जवाफदेहिता सुनिश्चित गर्ने र विकास योजना तर्जुमामा पारदर्शिता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

केन्द्रीय नेताको साथ

दुर्गेश चौधरीलाई सुनसरी ३ मा जिताउन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय तथा प्रदेश तहका नेताहरू सक्रिय हुने भएका छन्। बुधवार चौधरीले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेशका नेताहरू सहभागी भए।

कार्यक्रममा नेकपाका केन्द्रीय नेताहरू केशव विष्ट, अनिता परियार, निर्मल बराल, पर्शुराम बस्नेत, शिव डाँगी, मदन चुँडाल तथा कोशी प्रदेश सांसद जीवन आचार्य र सरस्वती पोखरेलले दुर्गेश चौधरीलाई जिताउन आफूहरू सक्रिय भएर लाग्ने बताएका छन्। पार्टीले सुनसरी ३ मा विशेष चुनावी रणनीति बनाएको र आगामी दिनहरूमा थप जनसम्पर्क कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिइएको छ।

Sequence 61.00_00_00_00.Still005